कांग्रेसको बैठक बस्दै,गगनको राजीनामा स्वीकृत होला ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा चुनावी समीक्षाका साथसाथै समसामयिक विषयमा कुराकानी हुने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

पार्टी सभापति गगन थापाले दिएको राजीनामा र आगामी महाधिवेशनबारे छलफल हुनुका साथै निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीतिबारे ठोस निर्णय हुने बताइएको छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएपछि सभापति थापाले राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृत गर्ने या नगर्ने भन्नेमा पार्टीमा दुई मत देखिएको छ ।

सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । आजको बैठकमा सभापति थापाको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने दुवै प्रस्ताव पेस गर्ने उपसभापति शर्माको तयारी छ । कांग्रेसको विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिमार्फत केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्छ।