झाँक्री प्रकाश भुजेलको ठगी साम्राज्यको भन्डाफोर
काठमाडौं।पूजा गरेपछि क्यान्सरदेखि छारे रोगसम्म निको हुन्छ’ भन्ने चर्का दाबी गर्दै सामाजिक सञ्जालमा भाइरल बनेका झाँक्री प्रकाश भुजेलको वास्तविकता अन्ततः सतहमा आएको छ। अन्धविश्वास र डरको व्यापार गर्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा उनको गतिविधि गम्भीर अनुसन्धानको घेरामा परेको छ।
फेसबुक, टिकटक र युट्युबमार्फत भुजेलले आफूलाई ‘अलौकिक शक्तियुक्त उपचारकर्ता’का रूपमा प्रस्तुत गर्दै आएका छन् । उनले रोगमात्र होइन, ‘विदेश जान भिजा नलाग्ने समस्या पनि पूजा गरेर समाधान गरिन्छ’ भन्दै भ्रम फैलाएका छन्।
पीडितहरूका अनुसार, भुजेलको तथाकथित ‘आश्रम’मा दैनिक सयौंको संख्यामा बिरामी, ज्येष्ठ नागरिक र समस्यामा परेका परिवार पुग्ने गरेका छन् । त्यहाँ ‘उपचार’को नाममा प्रति व्यक्ति तीन–तीन हजार रुपैयाँसम्म असुल्ने गरिएको आरोप छ ।
एक पीडित महिलाले भनिन्, – ‘दुई पटक पैसा तिरेँ, तर समस्या ज्यूँका त्यूँ रह्यो । पछि थाहा भयो – यो त सीधै ठगी रहेछ ।’
अर्का एक परिवारका सदस्यका अनुसार, कान नसुन्ने आमाको उपचार गर्ने भन्दै पटक९पटक पूजा गराइयो, तर सुधार त परै जाओस्, पैसा मात्र सकियो ।
धर्म गुरुको नक्कली आवरणमा नेपाल तान्त्रिक झाक्री संघ नामक संस्था स्थापना गरि खुलेआम धन्दा भुजेलले चलाउँदै आएका छन्। अझ चकित पार्ने तथ्य के भने, भुजेलले झारफुकलाई व्यवस्थित ‘व्यवसाय’कै रूपमा सञ्चालन गर्दै विभिन्न स्थानमा शिविर आयोजना गर्ने, आफूलाई ‘डाक्टर’ सरहको उपाधि दिने जस्ता गतिविधिमा संलग्न रहेको पाइएको छ।
डा. प्रकाश भुलेज भनेर सामाजिक सञ्जाल चलाएका भुजेलले व्यापक विरोध पछि आफुलाई मानर्थ तान्त्रिक डाक्टरेट हो भन्दै आएका छन् । कुनै वैज्ञानिक आधार नभएको उपचारलाई चमत्कार भन्दै बेच्ने यो प्रवृत्तिले सर्वसाधारणको स्वास्थ्य र अर्थतन्त्र दुवैमा गम्भीर क्षति पुर्याइरहेको छ।
सरकारी स्वास्थ्य निकायका अधिकारीहरूका अनुसार, यस्ता गतिविधि स्पष्ट रूपमा गैरकानुनी हुन्। अन्धविश्वास फैलाएर आर्थिक लाभ लिने कार्य मुलुकी फौजदारी अपराध संहिता, २०७४ अनुसार ठगी अन्तर्गत पर्ने र ५ देखि ७ वर्षसम्म कैद तथा जरिवानासम्मको सजाय हुन सक्छ ।
यस विषयमा भुजेलसँग प्रतिक्रिया लिँदा उनले गैरजिम्मेवार शैलीमा भने,- ‘जे मन लाग्छ लेख्नुस्, भन्नु केही छैन ।
विशेषज्ञहरूका अनुसार, यस्तो प्रवृत्तिले समाजमा अन्धविश्वास बढाउनुका साथै गम्भीर बिरामीलाई सही उपचारबाट वञ्चित गरिरहेको छ। उनीहरूले यस्ता गतिविधिमाथि कडा अनुसन्धान र शीघ्र कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
