दाउन्ने खण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा आंशिक रोक

काठमाडौं। वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा गयरातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोक लगाइएको छ। वर्षाका कारण हुनसक्ने दुर्घटना र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले रातिको समयमा ठूला सवारीसाधन सञ्चालनमा आंशिक रोक लगाइएको हो।

नारायणघा/बुटवल सडक अन्तरगत दाउन्ने खण्ड शुक्रबार दिउँसोदेखि परेको वर्षाले सडक चिप्लो भएपछि विशेषगरी ठूला मालवाहक सवारीसाधन चिप्लिने तथा अड्किने समस्या देखिएपछि सडक जाम कम गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सवारी सञ्चालनमा आंशिक रोक लगाइएको हो।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चैत ८ गतेसम्म हावाहुरी, मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सोही अवस्थालाई मध्यनजर गर्दै शुक्रबारदेखि चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० देखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किबास बजार क्षेत्रमा रोक्ने निर्णय गरिएको छ।

साना तथा लामो दूरीका यात्रुवाहक सवारीसाधन र आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइएको छ। सो क्षेत्रमा सडक मर्मतसम्भारको काम भइरहेकाले अत्यावश्यकबाहेक अन्य सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको छ।