लापरबाहीपछि सशस्त्र प्रहरी गुल्मका कमान्डरसहित कर्मचारी मुख्यालय तानिए
काठमाडौं। कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका गुल्मपति तथा डीएसपी प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौं फिर्ता बोलाइएको छ। युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछि कारबाहीका लागि उनीहरूलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा झिकाइएको हो।
गत चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान बरामद गर्ने क्रममा केही व्यक्तिहरू अनधिकृत रूपमा त्यहाँस्थित सशस्त्र प्रहरीको कार्यालयभित्र प्रवेश गरेका थिए । उक्त समयमा गुल्मपतिमाथि हातपातको प्रयास हुँदा समेत बल प्रयोग नगरिएको र युनिट सुरक्षाका आवश्यक उपाय अवलम्बन नगरिएको देखिएपछि उनीहरूलाई काठमाडौं झिकाइएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए।
“कार्यालयभित्र प्रवेश गरी कमान्डरमाथि हातपातको प्रयास हुँदा समेत किन बल प्रयोग भएन र युनिट सुरक्षामा किन पर्याप्त ध्यान दिइएन भन्ने विषयमा प्रधान कार्यालयले गम्भीर रूपमा छानबिन गर्नेछ,उनले भने ।
‘तस्कर’ समूह कार्यालयभित्र छिरेर हुलहुज्जत कसरी सिर्जना भयो भन्ने विषयमा समेत प्रधान कार्यालयको ध्यानाकर्षण भएको उनले बताए ।
“तस्करी नियन्त्रणमा विगतदेखि नै उत्कृष्ट कार्य गर्दै आएका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलको सक्रियता प्रधान कार्यालयलाई जानकारी भए पनि युनिट सुरक्षामा भने आवश्यक सतर्कता अपनाइएको देखिएन,डीआईजी भट्टले भने।
उक्त घटनाको छानबिनका लागि सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा यसअघि नै समिति गठन गरिएको थियो।
घटनाको समयमा त्यहाँ कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई मुख्यालय तानिएको छ। साथै, उक्त कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं गण कैलालीबाट नयाँ टोली खटाइएको भट्टले जानकारी दिए।
