नेविसंघ बिना नेपालको इतिहास अपूरो: महामन्त्री घिमिरे

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कसैले पनि रोक्न वा विस्मृतिमा धकेल्न नसक्ने बताउनुभएको छ।

आइतबार पार्टी कार्यालय सानेपामा नेविसंघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले नेपालको इतिहासमा नेविसंघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

उहाँले २०२७ सालमा पञ्चायती शासनविरुद्ध विद्यार्थीलाई संगठित गरी प्रजातान्त्रिक आन्दोलनलाई बलियो बनाउन नेविसंघ स्थापना भएको स्मरण गर्दै कतिपय अवस्थामा पार्टीभन्दा बढी त्याग र बलिदान गरेको बताउनुभयो।

महामन्त्री घिमिरेले पछिल्लो समय नेविसंघका गतिविधिलाई पार्टीले नजिकबाट नियालिरहेको उल्लेख गर्दै नयाँ राजनीतिक परिस्थितिमा यसको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो।

यसैबीच, नेविसंघका कार्यकर्ताहरूले सिनेट बैठकको नाममा अवैधानिक गतिविधि भएको आरोप लगाउँदै ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले आवश्यक गणपूरक संख्या नपुगेको बैठकका निर्णय अवैधानिक भएको दाबी गरेका छन्।