रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
काठमाडौैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ।
यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले लामिछानेसहितको मुद्दा संशोधनको निर्णय सच्चाइएको फाइल झिकाउन आदेश दिएको थियो। आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेपछि आजबाट पुनः सुनुवाइ हुन लागेको हो।
यसअघि महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।
पछि सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज पौडेल ‘सफल’ र कानुनका विद्यार्थी आयुष बडालले रिट दायर गरेका थिए। महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते सदर गरेको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो।
