अनुमति बिना प्रधानमन्त्री कार्यालय परिसर छिर्न बन्द

काठमाडौं। शुक्रवार देशले नयाँ प्रधानमन्त्री पाउँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्दै छन्। मध्यान्ह १२ः३४ मा बालेनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन्। त्यसपछि सिंहदरबार पुगेर पदबहाली गर्नेछन्।

बालेनका लागि सिंहदरबारमा नयाँ आसन उत्तर फर्काएर तयार पारिएको छ। यसअघिका प्रधानमन्त्री पूर्वी आसनमा बस्ने गर्थे। बालेनको आसनमात्रै होइन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रवेशका लागि पनि यसअघिको व्यवस्था फेरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीका अनुसार शुक्रवारदेखि उक्त कार्यालयको परिसरमा प्रवेश गर्न पनि अनुमति चाहिनेछ। बिहीबारदेखि नै प्रधानमन्त्रीको कार्यालयमा कसैलाई प्रवेश दिइएको छैन । जानै परे मुख्यसचिव र सचिवको अनुमतिले मात्रै जान पाइने छ।

शुक्रवारदेखि प्रधानमन्त्री कार्यालयको कम्पाण्डभित्र अनुमतिबिना प्रवेश निषेध सुरु हुनेछ। प्रधानमन्त्रीले पदबहाली गरेसँगै यस कार्यालयको कम्पाउन्डको गेटबाट भित्र सोझै प्रवेश पाइनेछैन। प्रधानमन्त्रीको सचिवालयको अनुमतिपछि मात्रै जान पाइने जनाइएको छ।