प्रधानमन्त्रीलाई रक्षाको यस्तो सुझाव:आफूलाई असीमित ठान्ने भूल नदोहोर्याउनुहोला
काठमाडौं। नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा देखाएको मौनतामाथि प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री शाहले संसद्को पहिलो अधिवेशनभर नबोलेकोमा असन्तुष्टि जनाएकी हुन्।
संयोजक बमले प्रधानमन्त्रीलाई लक्षित गर्दै लेखेकी छन्, ‘संसद्को पहिलो अधिवेशनदेखि आजसम्म हामीले देशका प्रधानमन्त्रीको आवाज सुन्न पाएका छैनौं। चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिन पनि तपाईंले बोल्नुपर्थ्यो। यो परिवर्तनलाई स्वीकार्दै जनतालाई सम्बोधन गर्नु तपाईंको जिम्मेवारी थियो। तर तपाईंले संसद्मा नबोली अधिवेशन सक्नु भयो।
उनले प्रधानमन्त्रीको व्यक्तिगत कार्यशैली र लोकतान्त्रिक अभ्यासबिचको भिन्नतालाई समेत केलाएकी छन्। संसद्मार्फत राष्ट्रलाई सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य भएको उल्लेख गर्दै उनले अगाडि लेखेकी छन्,हामी तपाईंको आवाज सुन्न चाहन्छौँ। “कुरा कम, काम बढी” भन्ने धारणा तपाईंको व्यक्तिगत विश्वास होला तर संसद् मार्फत राष्ट्रलाई सम्बोधन गर्नु पनि तपाईंको कर्तव्य हो।
लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी स्वभाव वा शैलीभन्दा पनि लोकतान्त्रिक मूल्यमान्यता र अभ्यासले राज्य शासन व्यवस्थालाई र जनतालाई सम्बोधन गरिनु पर्दछ। जनतालाई आफ्ना समस्याहरूको प्राविधिक समाधान मात्रै होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि चाहिने गर्दछ।
नेतालाई जनताको प्राविधिक समाधान मात्र नभई मनोवैज्ञानिक साथ पनि चाहिने भन्दै बमले प्रधानमन्त्री शाहलाई आफ्नो शैली सच्याउन सुझाव दिएकी छन्।
उनले प्रधानमन्त्रीलाई आफूलाई असीमित नठान्न चेतावनी दिँदै लेखेकी छन्, ‘यदि तपाईंले आफ्नै निजी शैलीमा शासन चलाउने सोच्नु भएको छ भने, पहिलो खुड्किलाबाटै फर्किनुस् र पछिल्लो आमनिर्वाचनले दिएको यो उत्कृष्ट लोकतान्त्रिक अवसरलाई संकुचित सोच र सीमित शैलीमा प्रयोग गरेर उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरालाई सच्याउनुस्।
उनले अगाडि लेखेकी छिन्, ‘तपाईं सक्षम हुन सक्नुहुन्छ, सबल हुन सक्नुहुन्छ। तर यससँगै बिर्सनै नहुने कुरा, तपाईं एक व्यक्तिका हिसाबले सीमित पनि हुनुहुन्छ। पुरानाहरू जस्तै आफूलाई असीमित ठान्ने भूल नदोहोर्याउनुहोला।’
यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन गत शुक्रबार राति १२स्०० बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गरेका थिए।
