पार्टी एकता होइन,सुधारिएको एमाले बनाऔं: सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी एकता भन्दा युवा पुस्ता भित्र्याएर एमालेलाई सुधार गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमामार्फत उनले अहिले नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला नभएको भन्दै पार्टीमा युवा पुस्ता भित्र्याएर पार्टी पुनर्निर्माण जरुरी देखिएको बताएका हुन् ।

उनले भनेका छन्, ‘हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन । तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?

उनले नेकपा एमाले आफैँमा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी भएकाले तात्कालिक राजनीतिक लाभ मात्र हेर्न नहुने बताउँदै भनेका छन्, दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी छ।

विचार र निश्चित गन्तव्य विनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्छ। अहिलेको वास्तविक आवश्यकता पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु हो । यसो नगरिए पार्टी झन् साँघुरिँदै जाने निश्चित छ।

उनले थप भनेका छन्, ‘विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौँ । हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ।

नेकपा एमालेलाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ।