सुकुम्वासी बस्ती हटाउने बालेनको निर्देशनमा रक्षा बमको आक्रोश

काठमाडौं । जेनजी अगुवा रक्षा बमले जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सुकुमवासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति कडा विरोध जनाएकी छन्। उनले उक्त निर्देशन प्रधानमन्त्री बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ भएको टिप्पणी गरेकी छन्।

बालेनले बुधबार सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुकुमवासी बस्ती खाली गर्न निर्देशन दिएका थिए । सो समाचारको अंश फेसबुकमा राख्दै रक्षा बमले लेखेकी छन्, ‘बालेन, तपाईंले जानेकै यत्ति हो रु यदि यस्तै हो भने, यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो ।

उनले रास्वपाको बाचा पत्र पढ्न पनि सुझाव दिएकी छन् । यसअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्ती हटाउने विगतमा भएका प्रयासको विरोध जनाउँदै डोजर चलाउने भए आफ्नो छातीमाथि चलाउन भनेको भिडियो सामाजिक सन्जालहरुमा भाइरल छ ।

रास्वपा वरिष्ठ नेता समेत रहेका बालेनले २१ फागुनको चुनावका बेला झापाको सुकुमवासी समस्या एक हजार दिनमा समाधान गर्ने वाचापत्र सार्वजनिक गरेका थिए ।

सुदन गुरुङले बुधबार राजीनामा दिएपछि गृह मन्त्रालय आफैंले सम्हालेका बालेनले बुधबार साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती हटाउने कामको सुरुवात काठमाडौं उपत्यकाबाट सुरु गर्न निर्देशन दिएका थिए।

बालेन महानगरको मेयर भएरका बेला पनि काठमाडौंका सुकुमवासी बस्ती हटाउने प्रयास गरेका थिए। त्यसबेला सुकुमवासीहरूले गरेको प्रतिवादका कारण सफल भएको थिएन। अहिले उनी प्रधानमन्त्री बनेपछि फेरि सुकुमवासी बस्तीहरू हटाउने प्रयास थालेका हुन्।