वहुतै राम्रो भयो सिंहदरवार जलेर, Once More अव प्रायश्चित पार्क बनाऔं

नेपाली सेना विश्वकै पुरानो , वफादार विश्वासिलो संस्था हो र राष्ट्रको लागी विश्व जगतमा भरपर्दो प्रमुख कुटनीतिक संस्था पनि हो । संविधानवाट प्राप्त जिमेमेवारीहरु हालसम्म नेपाली सेनाले अक्षरंश पालना गरी देश जनताप्रति सदैव प्रतिवद्द रहेको छ । गौरवशाली इतिहास भएको नेपाली सेनाको चर्चा जति गरे पनि कम हुन्छ तर गणतन्त्र पश्चात सेनाको चरित्र र व्यवसायिकतामा पनि प्रश्न गर्न शुरु भएको छ।

मौलिक सभ्यता, स्थानिय संस्कृति आम नेपाली खानपिन, भेषभुषा र रहनसहनमा व्यापक परिवर्तन हुदा नेपाली सेना पनि अछुतो नरहेको तीतो यथार्थ छ । अव यहा कोही पनि पुर्ण शुद्द चोखो र पवित्र छैन तसर्थ, सवैमा गम्भिर प्रश्न खडा भएको छ र अनुत्तरित समाजको सिर्जना भएको छ। समाजमा सवैले एक अर्कालाई दोषारपण मात्र गरिरहदा सम्पुर्ण नेपालीहरु राष्ट्रघाती जल्लाद र दलाल सावित भएका छन ।

राज्यवाट प्राप्त हुने आधारभुत सेवा सुविधावाट उपेक्षित सैनिक संस्थाको दयनीय अवस्था हुदा सिपाहीको दैनिक जीवन कठिन भएको छ । राज्य वेखवर त भयो भयो तर सैनिक नेतृत्वले नै थरी थरीका अधिकृत र युनिट निर्माण गर्ने, सुगम र मालद्दार अड्डा जान प्रोत्साहन गर्ने , सिपाहीलाई अझै पनि दास झै सोचिरहदा दलित भित्र पनि दमाई, कामी, सार्कीमा को ठुलो भन्ने सोचको दन्द्द भैरहेको छ।

हिजो राजाले दाश ठानेका सैनिक आज पनि जर्नेलको दाश वनि घरकाज सेवामै व्यस्त छन । राजाको सेना भनेर दोषारोपण खेपे पनि सीमित जर्नेल वावुसाहेव मात्र दरवारिया थिए, त्यसै गरी हाल अवसरवादको वातावरणमा र सीर्जित आगजनीमा पनि सीमित जर्नेळहरु मात्र यो जघन्य भौतिक आगजनिको वास्तविक भागिदार हुन ।

देशको मौलिकता ह्रास भैरहदा समाज विषाक्त हुदा सैनिक संस्था पनि यसवाट अछुतो रहेन । यता सैनिक नेतृत्व सिपाहीको वचत राशन रकम, कल्याणकारी खर्च, व्यापार व्यवसाय र ठेकदारवाट कमिशन असुल्नमा व्यस्त छ । नाफामुलक सोचले सेवा समर्पणको भावना कहिल्यै जागृत हुनै सक्दैन । त्यसलै सिंहदरवार जल्यो भनेर सेनामा दोष लाग्नु सामान्य नै देखिन्छ, नेतृत्वको मौनताले पनि यही भन्छ तर यो दोषारोपण भन्दा पनि के, किन र कसरी यो हदसम्मको समाज अराजक भई देश प्रताडित भयो भनेर वुझ्न जरुरी छ ।

उक्त घटना नियोजित हो कि, सरकारको अकर्मण्यताले हो कि वा सुरक्षाकर्मीको लापरवाहीले हो भविष्यले नै वताउला । कन्तविजोग भन्दा हरिविजोग ठीक भनेझै, सेनाले यो संकटमोचन गरी चुनाव सम्पन्न गरेर नया सरकार व्यवस्थापनमा ज्यादै नै सराहनिय भुमिका निर्वाह गरेको छ।

कर्तव्यनिष्ठ फौजले स्यावासीको आशमा आफ्नो जिम्मेवारी निभाएको हैन, यस तपोभुमिको माटोले योगदान माग्दा स्वस्फुर्त भई समर्पण मात्र गरेको हो। यो विषम संकटमा सो आवेशपुर्ण घटना नियोजित हो वा भवितव्य, के कसले जिम्मेवारी लिने भन्दा पनि अव कसरी सामुहिक रुपमा अघि वढेर देश विकास गर्न सकिन्छ भनेर वहस गर्न जरुरी छ। हो उक्त जघन्य आगजनीमा प्रतिकार्य र निरुत्साहितको प्रयास सेनावाट प्रभावकारी नभएको हो, आन्दोलन अघि पानी वाड्ने नगर प्रहरी आगजनीमा स्वस्फुर्त ननिस्किएको हो तर जनतामा यो हदसम्मको निराशा वनाउने वातावरण भने नेतृत्वकर्ताले नै लिनपर्छ।

आधारभुत सेवा सुविधा दिन कन्जुस्याई गरी जनतालाई सास्ति दिने निजामति कर्मचारी र प्रहरी प्रशासन प्रमुख दोषि हुन। देश डुव्यो, भ्रष्टाचार मात्र भयो, सवै नेता चोर हो भन्ने अफवाह सिर्जना गरी समाजमा दशकौ दशक नकारात्मक सन्देश मात्र प्रवाह गरी घृणा र गालीगलौचलाई प्रोत्साहन गर्ने अभियन्ता सामाजिक संजाल प्रयोगकर्ता, मिडिया र अधिकारकर्मीले पनि जिम्मेवारी लिनपर्छ । जनतालाई कर्तव्यविमुख वनाई अधिकारको मात्र वकालत गर्ने नागरिक समाज र वौद्दिक वर्गले पनि लिनैपर्छ । नया पुस्ताले विर्सिसकेको जातिय विभेद, धनी गरिवको वर्ग संघर्ष, चेतनशील समुदाय लखेटेर पहाड खाली गरेर अव्यवस्थित वस्ति वसाई देशको मौलिकता सक्ने र सधै च्याखे सरकारमा एम्वुश थाप्ने प्रचण्ड नेतृत्वको माओवादी पार्टीले पनि लिनपर्छ ।

गणतन्त्र पश्चात सेनाको गर्विलो अभिभावक कोही पनि वन्न सकेन । हिजो सेना न राजाको थियो न आज प्रजातान्त्रिक शक्तिको । सेना सधै सदैव राष्ट्रिय हितमा अडिग छ । प्रजातन्त्रको आवरणमा अवसरवाद र ट्रेड युनियनको कर्मचारीले नागरिक सर्वोच्चता शव्दको चरम दुरुपयोग गर्दा, अभियन्ताको चेतना हावी हुदा सेना सधै दोश्रो दर्र्जाको नागरिक वन्न पुग्यो। दलीय सरकार पनि कर्मचारीको लै लैमा लाग्दा सेनालाई प्रजातन्त्र विरोधि हो की भनेर सेनाप्रति शंकुचित मात्र भयो।

सरकारको हरेक क्रियाकलाप INGO स्तरको सेमिनार र छलफलमा आकर्षित हुदा सिपाहीले गुणस्तरको छाना, खाना र नाना पाएनन । अत्यावश्यक आवासको सेवा Bunker to Barrack आकर्षक योजना नारा र वक्तव्यमै सीमित भयो । उत्पादक र गुणात्मक भन्दा वेअसरदार संख्यात्मक तालिमले गर्दा सैनिकहरु प्रशासन व्यवस्थापन र जटिल अवस्थामा हुल दंगा नियन्त्रण गर्न असक्षम छन, संकटमा गोली चलाउन अज्ञान छन । हुल भीड नियन्त्रण गर्न प्रहरीसंग जस्तो स्रोत साधन पनि नभएको र शसस्त्र संगै परिचालन गरि हाल्ने परिपाटि फगत मिडिया खपत मात्र हो।

आफ्नै पेशामा कठिन परिश्रमको तालिम गरेको सैनिक घर विदा, सेवा अवधि, संचित रकम जस्ता सेवा सुविधा निजामति सरह भयो र सेवा अवधि विना अध्ययन र केही छलफल नगरी १६ वर्ष वाट २० वर्षमा निजामतिको लै लैमा वनाउदा गरिव सिपाहीको वैदेशिक रोजगारवाट पैसा कमाउने अन्तिम अवसर अवकाश पश्चात पनि अनिश्चित भयो।

सैनिक पेशा अनुत्पादक लगानी हो भन्ने मानक स्थापित हुदा सिपाहीको सहुलियत पनि ओझेलमा पर्यो । जर्नेळहरु आफु सम्वृद्द हुदा सिपाहीको उन्नतिप्रति ख्याल नै पुगेन र चरम सुखले गर्दा अधिकृतको दोश्रो पुस्ता सेना वन्न इच्छा गरेनन र चरम अभावले गर्दा सिपाहिको दोश्रो पुस्ता सिपाही नै वन्न पनि योग्य रहेन।

राज्यले प्रदान गर्ने शिक्षा स्वास्थ्य जस्तो आधारभुत सेवा सैनिक कल्याणकारीमा निर्भर हुन परेको छ । सिपाहीले युद्द आधुनिक हतियारले मात्र लड्दैन, जोश जागर हौसला र नेतृत्वले प्रदान गरेको सेवा सहुलियतवाट पनि हुन्छ । प्रोत्साहन गरौ सिपाही र उनमा आश्रीत परिवारलाई। आत्मविश्वास वढाऔ राष्ट्रभक्तिको ।

सिंहदरवार परिसरको सन्दर्भमा सेनाको दुइमाईल दौड वन्द हुदा अदृश्य शक्तिको निगरानी वन्द हुन्थ्यो सिंहदरवारमा । सेना प्रहरीको विहान वेलुकीको तीन फन्कोले तीन भुगोलको गतिविधि अवलोकन हुन्थ्यो र आतंकवादी तथा अनावश्यक गैर्ह हर्कतको संभावना ज्यादै न्युन थियो । सिंहदरवारको हरेक भित्ताहरुमा गरिव नेपाली र लडाकु सिपाहीहरुको भावना पोखिएको थियो, व्याण्ड गुल्म वाजाको ध्वनी पर्खालमा ठोक्किएर छानाहरु रंगिन भएर संसारनै मनमोहक हुन्थ्यो । उपत्यकाको गतिविधि वुझ्दै सांझ सुरक्षित वास वस्न हजारौ चराहरु त्यहा वस्थे ।

घोडेजात्रा र महाशिवरात्री अविस्मरणिय वनाउन टुडिखेल आसपासवाट अवलोकन गर्न हजारै सर्वसाधारणको घुइंचो लाग्थ्यो । रातमा चराको चिरविर र किराफट्याग्रको आवाजले पर्यावरण चलायमान थियो । आसपास नालीछेउको खेतवाट निस्केको ज्यापुको खर्पनमा पसिनाको सुगन्धले पैदल मार्ग शान्त थियो, देशको सवै भुगोलको जनताको दौडधुपले काठमाडौको माटोमा छुट्टै वास्ना छरेको थियो। हरेको ससाना गतिविधिमा ऐतिहासिक निरन्तरता थियो र आफ्नै मौलिकताको सुन्दरता झल्किन्थ्यो। तर आधुनिकतामा सर्वोच्चता देख्ने जमातले जताततै खोट मात्र देख्थ्यो।

आम नागरिक प्रवेश गर्न नसक्ने सिंहदरवारमा सैनिक जवान निर्धक्क हिडेको देख्दा प्रजातन्त्रवादीहरु वेचैन हुन्थे र कति चाडो सिहंदरवारवाट व्यारेक हटाएर सैनिकमुक्त होस भन्ने अभिप्राय थियो,घोडातवेलाको दुर्गन्ध भर्खरै नारायणहिटिमा व्यवस्थापन गरेको थियो । सभ्यतामा ठेस लाग्दा समाज पतनको दिशामा हुन्छ नै तर नेतृत्व नै विदेशि दास वन्न अग्रसर हुदा विनाशको मार्ग झनै सहज हुन्छ । नागरिक सर्वोच्चताको आवरणमा हुर्किएको दलियकरणमा नेता र कर्मचारीले सक्दो राष्ट्र दोहन गरे जुन जनताले मन पराएका थिएनन तर विडम्वना प्रजातन्त्रमा यसको विकल्प पनि थिएन ।

सेनालाई सिंहदरवार जलायो भन्ने आक्षेप छ, यो विषम परिस्थितिमा जति गरे पनि आलोचनावाट कोही चोखो रहन्नथ्यो । हिजो निरंकुश राणा हटाउने शक्तिले आज जनतालाई सिंहदरवारमा सहज पहुच वनाउन असक्षम भएकै हो ।

नीति निर्माणमा अनावश्यक खोट खोजी विकासको आयोजना दशकौ ढिला पुराउने, जनताको अधिकार सुनिश्चित गर्न भंझटिलो कानुन संशोधन गर्न नसक्ने सिंहदरवार कसलाई कुन प्रयोजनको लागी भनेर प्रश्न उठिसकेको थियो । आफ्नो गुट र सीमित अवसरवादीको हितको लागी कार्यलय समय पश्चात पनि अलोकप्रिय कठोर निर्णय भैरहेको थियो । दर्ता, चलानी, भनसुन, नियुक्ति, सरुवा, वढुवा, छलफल मात्र हुने र निवेदन पत्र अर्को मन्त्रालयमा पठाई जिम्मेवारीवाट पन्छिने मात्र काम हुने सिंहदरवारको गरिवसॅग कहिल्यै सुमधुर सम्वन्ध हुन सकेन।

इतिहास पतन भए पछि कुन मौलिकता र स्वाभिमानमा गर्व गर्ने , आयातित सॅस्कारको पैरवी मात्र गाउने आधुनिक समाजमा यस्ता निरंकुश भवन अव किन चाहियो र । हिजो राजा र राणाहरुले विलासी जीवनयापनको लागी यो भवन वनाएको आरोप लगाएको होइन गणतन्त्रवादीहरुले। यो भवन भौतिक रुपमा मात्र जलेको हो, नैतिक र मानसिक रुपमा पहिले नै जीर्ण भएर ढलिसकेको थियो।

अहिले सिंहदरवार जल्दा रुने मनहरुले हिजो सिंहदरवार अस्तव्यस्त भई राज्य भद्रगोल हुदा कहिले खुलेर सुधार गरौ भनेर प्रण गरेका थिए ? यो हदसम्मको नकारात्मक पुस्ता सर्वेसर्वा हुदा हाम्रो संस्कारले प्रदान नगरेको वातावरण कति विषाक्त छ भन्ने सोचविचार गर्न पर्दैन । आधुनिकताको नाममा अपनाएको नया शिक्षा नीति, शहरी वसाई नीति र गांउलाई परनिर्भर वनाएर उत्पादन विमुख भएको समाज नै किंकर्तव्यविमूढको अवस्थामा अल्झदा देशको दीगो भविष्य आशा गर्न सकिन्छ र ?

अव जे भयो ठीकै भयो , सवै एकिकृत भइ सामुहिक भावनावाट राष्ट्रहितमा एकजुट भएर जुटौ । सवैजना पहिले हाम्रो देश नेपाल फेरी यसरी नजलोस भनेर प्रण गरौ, उच्च सद्भावका साथ देशप्रति प्रतिवद्द हुन्छौ भनेर अन्तर्मनवाट स्वीकार गरौ। सिंहदरवारको भौतिक निर्माण हैन अव नेपाली मनमा भएको नकारात्मक उर्जा नष्ट गर्न अपरिहार्य भएको छ । भाटभटेनी जल्दा मिनवहादुर गुरुंग मात्र होइन , उनले प्रदान गरेको रोजगारीवाट आश्रित लाखौ परिवार, उत्पादनको मुल्य नपाउने हजारौ किसान र व्यापारीको पीडामा पनि हामी संवेदन हुन जरुरी छ।

तसर्थ, जलेको सिंहदरवारको भग्नावेश अगाडि आम नेपाली युवाहरुलाई आत्मादेखी प्रायश्चित गर्न अव त्यहाको हरित परिसरमा मौन धारणा गर्दै प्रार्थना गर्ने र आसपास सडक सरसफाई गर्न उपयुक्त हुन्छ। अव भत्किएको सिंहदरवारको यथास्थिमै संरक्षण गरी नकारात्मक उर्जा विसर्जन गर्न “प्रायश्चित पार्क” वनाउनु नै नव नेपालीको सर्वहित हो। अरुलाई मात्र नराम्रो देख्ने नेपाली जमातमा हाललाई चेतनशील वनाउने यो नै सर्वोत्तम उपाय हो ।