पोखराको मित्र मिलन सहकारी ठगी प्रकरण: रास्वपा नेता रेग्मीविरुद्ध पक्राउ पुर्जी

पोखरा। पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम अपचलन तथा ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्का एक नेता पनि तानिएका छन्।

कास्की प्रहरीले रास्वपा नेता बोधराज रेग्मीसहित २६ जनाविरुद्ध जिल्ला अदालतमार्फत् पक्राउ पुर्जी जारी गरेको हो। सहकारीबाट ऋण लिएर लामो समयसम्म चुक्ता नगर्ने र प्रहरीको पटक-पटकको ताकेतालाई समेत बेवास्ता गर्दै अटेर गर्नेहरूमाथि अनुसन्धान तीव्र पारिएकै क्रममा रेग्मीविरुद्ध पनि पुर्जी जारी भएको कास्की प्रहरीका एक अधिकृतले पुष्टि गरेका छन्।

पक्राउ पुर्जी जारी भएसँगै रास्वपा स्याङ्जाका नेता रेग्मी हाल फरार भएका छन् र प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको छ।

फरार रहेका बोधराज रेग्मी रास्वपाबाट स्याङ्जा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीका स्वकीय सचिव समेत हुन्। स्याङ्जाको पुतलीबजार नगरपालिका-५, नयाँबजार निवासी रेग्मीले यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर १ बाट उम्मेदवारी समेत दिएका थिए।

मित्र मिलन सहकारीको वित्तीय विवरणमा गम्भीर कैफियत देखिएपछि सहकारी रजिस्ट्रारको कार्यालय पोखराले गरेको छानबिनबाट २६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको तथ्य खुलेको थियो।

बचतकर्ताहरूले आफ्नो रकम फिर्ता नपाएपछि दिएको उजुरीका आधारमा यसअघि २०८० सालको मंसिर महिनादेखि नै सहकारीका सञ्चालक तथा आबद्ध व्यक्तिहरूविरुद्ध कानुनी कारबाही अघि बढाइएको थियो। सोही क्रममा संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारीलाई प्रहरीले पहिले नै नियन्त्रणमा लिइसकेको थियो।

उक्त समयमा सहकारीको रकम हिनामिना गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुवेदी, ताण्डव न्यूज डटकमका सम्पादक एवं एमाले पोखरा २१ का इन्चार्ज अर्जुन गिरी, सहकारीका उपाध्यक्ष विजय लम्साल र कानुनी सल्लाहकार जनकल्याण पराजुली लगायतका हाई-प्रोफाइल व्यक्तिहरूविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।

तीमध्ये केही आरोपितहरू हाल जेल सजाय काटिरहेका छन् भने पछिल्लो समय प्रहरीले ऋण नतिर्ने र अपचलनमा संलग्न बाँकी व्यक्तिहरूमाथि फन्दा कस्दै लगेको छ।