राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ-म छोड्दिनँ
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अधिकांश नेताहरूले ‘मार्गप्रशस्त’ गर्न माग गरेपछि अध्यक्ष केपी शर्मा ओलीले आफू यसरी पछि नहट्ने अडान लिएका छन् ।
शुक्रबारदेखि जारी सचिवालय बैठकमा नेताहरूले निरन्तर आ–आफ्ना धारणा राखिरहेका छन् । शुक्रबार पाँच जना उपाध्यक्षले धारणा राखेका थिए भने शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले आफ्ना विचार प्रस्तुत गरे।
शनिबारको बैठकमा उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई खुलेरै मार्गप्रशस्त गर्न आग्रह गरे । महासचिव पोखरेलले भने घुमाउरो शैलीमा अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने उल्लेख गरे ।
बैठकमा ओलीले बीच–बीचमा नेताहरूलाई रोक्दै आफ्ना कुरा राखेको र ‘दिशानिर्देश’ गर्ने प्रयास गरेको नेताहरूले बताएका छन् ।
यसैबीच, नेताहरूबाट निरन्तर पार्टी रूपान्तरण र राजीनामाको दबाब बढेपछि ओलीले आफू त्यस्तो मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । शनिबारको बैठकमा ओलीले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई यसरी सम्झाएर सक्नुहुन्न । म सम्झिन्नँ र यसरी छाड्दा पनि छाड्दिनँ ।’
सचिवालय बैठकमा नेताहरूले मार्गप्रशस्त गर्न आग्रह गरिरहँदा ओलीले भने केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेको तर्क गर्न थालेका छन् । उनले यो विषयलाई केन्द्रीय कमिटी बैठकसम्म लगेर आवश्यक निर्णय लिइने बताएका छन्।
अब चार जना सचिवहरूले बैठकमा आफ्नो धारणा राख्न बाँकी छ। शनिबार उनीहरूले धारणा राखेपछि प्रस्तावित एजेन्डामाथि छलफल हुने र आवश्यक निर्णय गरिने नेताहरूले जानकारी दिएका छन्।
