आज यी स्थानमा ठूलो वर्षाको सम्भावना
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा छ ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस र कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थान, कोशी प्रदेशको तराई र मधेस प्रदेशको थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेश तथा कोशी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले वर्षाका कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ।

