डा.गोविन्द केसीको तेस्रो दिनमै स्वास्थ्यमा समस्या, अस्पताल लैजाने तयारी

काठमाडौं। धनगढीको कृष्ण मन्दिरमा २४ औं सत्याग्रह (आमरण अनसन) मा रहेका डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या आएको छ । अनसनको तेस्रो दिनमै उनको स्वास्थ्यमा विभिन्न समस्याहरू देखिएपछि उनलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको हो।

उनका सहयोगी डा.अमृत जैसीका अनुसार डा. केसीको शरीरमा सुगरको मात्रा निकै घटेर ५० पुगेको छ। ब्लड प्रेसर (रक्तचाप)समेत न्युन देखिएको छ। शरीरमा सुगर र रक्तचापको मात्रा कम हुँदा थप जटिलता आउन सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले उनलाई तत्काल अस्पतालको भर्ना गरेर निगरानीमा राख्न सुझाव दिएका छन्।

उनका अनुसार डा.केसीलाई थप उपचार र स्वास्थ्य निगरानीका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको छ। अस्पतालमा उनको लागि बेडको व्यवस्थापन मिलाइँदै गरेको र केही बेरमै उनलाई अस्पताल भर्ना गरिने सहयोगी ड. जैसीले जानकारी दिए।