सिपाही किन ढल्छ-“सेवा नै परम धर्म हो “
एकबारको जीवनमा देशप्रति समर्पित भई माटोमा घुलमिल हुने अवसर थोरैको नसीवमा मात्र लेखेको हुन्छ। यसमा उच्च त्याग समर्पण लगाव अनुशासन, निस्वार्थ भावना, वफादारिता र उच्च शाहस चाहिन्छ। सेना हरदम संस्था र देशप्रति कृतज्ञ हुदै उन्नतिको सपना बुन्छ । सेनाको बसाई राष्ट्रले सुनिश्चित गरिदिएमा मात्र उसले दिने पहरा भरपर्दो र विश्वस्निय हुन्छ। राष्ट्रले सुरक्षा फौजको परिवार सम्पन्न बनाइदेला भनेर हरेक ड्युटि वसेको सिपाहिले आशा गरेको हुन्छ। त्यसैले सेनाले सधै राष्ट्र पहिला भन्दै देश विकासको कामना गरेको हुन्छ।
फौजीको चाहना धेरै सीमित हुने र सानो संसारमा रमाउने हुन्छ। उनीहरुको सामान्य मागलाई नेतृत्वले संवेदन भएर वुझ्न जरुरी छ। सिपाही जोशिलो सकारात्मक, स्वस्थ र निडर भएर आदेशको पालना गर्ने भए पुग्छ। देश चिन्तन गर्ने,अर्थ परराष्ट्र विज्ञ ज्ञान आवश्यक पर्दैन। तसर्थ सिपाहीवाट धेरै अपेक्षा गर्नुहुदैन, उनीहरुको स-सानो क्रियाकलापलाई अतिरंजित पनि गर्न हुदैन । कुनै पनि लडाइ हतियारले जितिने होइन , सिपाहिको अदम्य साहस र देशप्रतिको उच्च समर्पणले जितिने हो । राज्यले यो विश्वास कायम गर्न सेनालाई विशेष सेवा सुविधा दिनपर्छ ।
वर्तमान अवस्थामा सैनिक तथा सुरक्षा क्षेत्र अनुत्पादन लगानी हो भन्ने भाष्य व्याप्त भैरहेको छ । सेनाले तालिममा कतिसम्म दुख गर्छ भन्ने आम नागरिकलाई थाहा हुदैन तर निजामति र राजनीतिक नेतृत्वले नवुझ्दा सैनिक सेवा सुविधा अन्यौलमा छ । निजामति र अर्थ विज्ञको लहैलहैमा सैनिक सेवा १६ वाट २० वर्ष पुर्याउदा सिपाहीको घरपरिवार विचल्लीमा छ । अवकाशपश्चात वैदेशिक रोजगारमा जाने वातावरण सुनिश्चित छैन । तसर्थ, सैनिकको २० वर्षे सेवा अवधि निजामति सरह हुदा तालिममा गरेको दुख र युनिटमा विताएको समय व्यर्थ भएको छ ।
यसैगरी सैनिकले पाउनपर्ने आधारभुत लत्ता कपडा, राशन र वासस्थान पनि गुणस्तरको छैन । चुस्ता कपडामा कटन सिल्क भन्दा नाइलन पोलिस्टर ज्यादा र सार्हो कमसल वुटमा कस्सिदै घण्टौ सम्म अनवरत वस्दा सिपाही अटसमटस गर्दै अनुशासित हुन कर लाग्छ । देशको घट्दो जनसंख्या र युवाको विदेश पलायनले गर्दा हरेक सैनिक व्यारेकको दरवन्दि एक तिहाइ (१/३) खाली छ । परम्परागत र औचित्यहिन तालिम अत्यधिक भएको, आकस्मिक निरिक्षण, २४ घण्टे ड्युटीको घर विदा निजामति सरह भएको अवस्थामा सिपाही अत्यधिक व्यस्त छ र न्युन हौसला रहेको छ। सिपाहिको Bunker to Barrack वासस्थान आधा मात्र वनेको छ।
राशन स्वस्थ, गुणस्तर भन्दा सस्तो रकम कवोल गर्नेलाई दिइन्छ र समान रासन भने पनि पति र जवानले खानेमा प्रष्ट भिन्नता छ । यसरी नियमित कार्यवाहेक राष्ट्रको सेरोमोनियल ड्युटि, विपद कार्य र राष्ट्रको आकस्मिक कार्यमा अत्यधिक खट्टिनपरेको छ । समारोहमा धेरै अघि देखि पटक पटक रिहर्शल गर्नुपर्ने , भिभिआईपि आउनु अघि र पछिसम्म उच्चस्तरको टर्न आउटमा भोक प्यास विना अनवरत खट्टिनपर्छ।
सैनिक नेतृत्वले पनि न्युन जनशक्तिमा कतिसम्म कहाको समारोहमा भाग लिने, कति पटक पुर्वभ्यास गर्ने भनेर सानो फौजमा छिटो छरितो रुपमा कार्य सम्पादन गर्न पर्छ न कि कुन सिपाहीले गाल पार्यो, वेइज्जत गर्यो भनेर तालिम र अनुशासनको कमि भनेर मात्र निस्कर्ष निकाल्न भएन।
राम्रो नराम्रो सुख दुख सवैमा फौजको हौसला घट्न दिनु भएन। उच्च हौसला र सकारात्मक उर्जा भएर नै रेन्जर सिपाहिको व्यक्तिगत र्याप गीत सैनिक संस्थाले सार्वजनिक गरेको छ । यस्तो लगाव निरन्तर कायम राख्नुपर्दछ र सकारात्मक भएर प्रोत्साहन गर्न पर्दछ ।
जेन्जी आन्दोलनमा अहोरात्र भिजेर कर्तव्यपालन गर्दै राष्ट्रलाई निकास दिएको सिपाहीलाई नया सरकारले समेत वर्षातमा ओढ्ने रेनकोट उपलव्ध गराउन सकेको छैन । आफु सरह वजनको भारी वोकेर हिड्ने सिपाहीलाई गन्तव्यमा पुराउन सवारी साधन र पर्याप्त इन्धन छैन।
राजमार्गको धुलोमा सवारी नियमन गर्ने ट्राफिक प्रहरीको स्वास्थ्य विमा सुनिश्चित गर्न आवश्यक छ । हुलदगांमा खट्टिने प्रहरी सधै राज्यको शिकार भएको छ।
राज्यले सुरक्षा फौजको उच्च अधिकारीसंग मात्र भेटघाट गरेको छ, पसिनाले भिजेको सिपाहीसंग कुनै नेतृत्व साक्षात्कार भएको समाचार सुनिएको छैन।
सिपाहीले ओढाएको छातामा शितलता महशुस गर्ने नेतृत्वले उनीहरुले लगाएको वुट जुत्ता मोजाको गुणस्तर कस्तो छ, उनीहरुले टेकेको धर्ती कस्तो छ भनेर मनैवाट दुख पीडा वुझ्न पर्दछ। तसर्थ, गणतन्त्रमा ढलेको सिपाहीको समस्या व्यक्तिगत होइन , जनतावाट चुनिएको संसदमा वहस गर्नुपर्ने प्रमुख मुद्दा भएको छ, आत्मविश्वासी वनाएर उठाउने दायित्व राष्ट्रकै हो।
विडम्वना सिपाहीको पीडा डिजिटल संसारमा भ्युज वटुल्ने मसला मात्र भएको छ । हेक्का रहोस, हरेक राष्ट्र गान र झन्डामा सिपाहीको रगत पसिना मिसिएको हुन्छ र स्वाधिनतामा अर्थपुर्ण हुन्छ । सम्पुर्ण सुरक्षाफौजको भावनालाई वुझौ र सम्मान गरौ ।
लेखक-राजन कार्की (अवकाश प्राप्त सैनिक, हाल साउदि अरेविया)

