प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले माग्यो रास्वपाको धारणा
काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा विषयमा दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा तीव्र चर्चा र विवाद उत्पन्न गरेको छ।
सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भनेका थिए,मैले पनि प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रैछ। त्यसलाई दुवै देशले साथीको रूपमा बसेर समाधान गर्ने सोच राखेका छौँ ।
उक्त भनाइप्रति नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै शर्माले प्रधानमन्त्रीले संवेदनशील कूटनीतिक विषयमा बोल्नुअघि “दर्जन पटक सोचेर” बोल्नुपर्ने बताए। देशको प्रधानमन्त्रीले बोल्नुअघि दर्जन पटक सोचेर बोल्नुपर्छ । संवेदनशील कूटनीतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ,शर्माले लेखेका छन्।
उनले वर्तमान सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै थप प्रश्न गरेका छन्,सरकार बालेन’ को मत प्रधान कि ‘व्यक्ति बालेन’ को मत मुख्य ? रास्वपाको धारणा के हो ? सीमा मिचेका हौँ कि मिचाइमा परेका हामी थप विभक्त हुन लागेका हौँ? ”प्रधानमन्त्रीको अभिव्यक्तिप्रति चौतर्फी टिप्पणी बढेपछि परराष्ट्र मन्त्रालयले तत्काल स्पष्टीकरण जारी गरेको छ।
मन्त्रालयले प्रधानमन्त्रीको भनाइ दशगजा क्षेत्रमा हुने अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ (सीमा वारपारको भोगाधिकार) सँग सम्बन्धित रहेको स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार प्रधानमन्त्रीले प्राविधिक रूपमा दुवै देशका नागरिकहरूबीच सीमा क्षेत्रमा हुने खेतीपाती तथा भोगाधिकारको विषयलाई उल्लेख गरेका हुन्, न कि मुख्य भूमि अतिक्रमणको। यो विषयलाई लिएर नेपाल–भारत सीमा व्यवस्थापन, लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्रको विवाद र दुई देशबीचको कूटनीतिक संवादको सन्दर्भमा थप बहस सुरु भएको छ।
