सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो,यो नाङ्गो प्रतिशोधको पराकाष्ठा हो: ओली
काठमाडौं । पार्टीको साङ्गठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला उपाध्यक्ष विष्णु पौडेललाई सरकारले ‘अपहरणको शैलीमा’ गिरफ्तार गरेको भन्दै नेकपा एमालेले विरोध गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै उपाध्यक्ष पौडेललाई सरकारले गैरकानुनी ढङ्गले गिरफ्तार गरेको भन्दै यसको विरोध गरेका हुन्।
एमालेले पौडेलको पक्राउलाई ‘अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा’ भनेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षडयन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ।
ओलीले उपाध्यक्ष पौडेल सुर्खेतको कार्यक्रम सकेर पूर्वनिर्धारित कार्यतालिका अनुसार भोलिपल्टै काठमाडौं फर्कने तयारीमा रहेको उल्लेख गरेका छन्। तर विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उनकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश ल्याइएको ओलीको आरोप छ।
सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सधैँ सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको ओलीको भनाइ रहेको छ।
एमालेले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको आरोप लगाएको छ। सत्ताको उन्मादमा यस्तो अधिनायकवादी कदम चालिएको आरोप लगाउँदै एमालेले यस कार्यको डटेर सामना गर्ने चेतावनी दिएको छ।
