सिल प्याक पानीको बोतलभित्रै भेटियो छिपकिली
काठमाडौं । सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलभित्र छेपारो (छिपकिली) भेटिएको छ।
पानीमा छेपारो भेटिएपछि ‘ऋषि जल’ नामक प्रशोधित पानी उत्पादन गर्ने केवी एण्ड सन्स नेपाल कम्पनीलाई इलाका प्रशासन कार्यालय लहानले २ लाख रुपैयाँ जरिबाना तिराएको छ।
इलाका प्रशासन कार्यालयका अनुसार गत असार १० गते लहान नगरपालिका– ३ स्थित ‘न्यू भान्जा होटल’ मा उक्त कम्पनीले वितरण गरेको पानीको बोतलभित्र छेपारो देखिएको थियो।
सोही विषयमा उपभोक्ताबाट फोनमार्फत जनगुनासो आएपछि कार्यालयको निरीक्षण टोलीले तत्काल अनुगमन गरेको थियो। अनुगमनका क्रममा कम्पनीले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको र मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको थियो। प्रशासनले कम्पनीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो।
उक्त कम्पनीको पानीबारे अन्य गुनासा समेत प्राप्त भइरहेको भन्दै प्रशासनले कम्पनी सञ्चालकलाई कार्यालयमै बोलाएर सचेत गराएको छ। प्रशासनले बजारमा पठाइएका ती खराब ब्याचका ‘ऋषि जल’ नामक पानीका सम्पूर्ण बोतल तत्काल बजारबाट फिर्ता लिन सञ्चालकलाई निर्देशन दिएको छ।
आगामी दिनमा यस्ता गल्ती दोहोरिएमा कानुन बमोजिम थप कडा कारबाही हुने चेतावनी समेत दिइएको छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको पिउने पानीमै यस्तो चरम लापरवाही भेटिएपछि प्रशासनले आम उपभोक्तालाई सचेत रहन अपिल गरेको छ ।
कुनै पनि उपभोग्य वस्तु खरिद तथा उपभोग गर्दा सचेतता अपनाउन र वस्तुमा कुनै त्रुटि वा खराबी देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।
