सांसदका स्वकीय सचिवको तलबभत्ता बढाउन सकारात्मक छौँ: मन्त्री वाग्ले
काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको तलब वृद्धि र फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।
शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले स्वकीय सचिवहरूको पारिश्रमिक लगायतका सुविधाका विषयमा सरकार उदार रहेको बताएका हुन्।
उनले फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्ता लगायतका सुविधालाई आवश्यक विधि र प्रक्रिया पुर्याएर समयानुकूल बनाउन सरकार नकारात्मक नरहेको उल्लेख गरे।
वाग्लेले नेपाल राष्ट्रबैंक ऐनमा प्रश्तावित संशोधनका विषयहरूलाई स्वस्थ र विधिसम्मत छलफलमार्फत टुङ्ग्याउन सरकार तयार रहेको बताए।
अर्थमन्त्री वाग्लेले भने, ‘तलब वृद्धिको कुरा छ, हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उदार बनिरहेका छौँ। त्यस मानेमा यो जुन फिल्ड भिजिट हुँदाखेरिको भत्तालाई विधि पुर्याएर समयानुकूल बनाउनमा हामी नकारात्मक छैनौँ।
अर्थमन्त्री वाग्लले राष्ट्रबैंकको सञ्चालक समितिमा सदस्य सङ्ख्या कति राख्ने भन्ने विषयमा खुला छलफल गर्न सकिने बताए।
