सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय
काठमाडौं। सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गर्ने भएको छ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिवार र आइतवार २ दिन बिदा दिन थालेपछि साविकमा रहेका अरू सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो।
कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्यसचिव कार्कीले हस्ताक्षर गर्नुभएको २२ बुँदे निर्णयमा उल्लेख छ।
बैठकले धेरै पुराना, असान्दर्भिक र कार्यसम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।
यस्तै बैठकले दरबन्दी कटौतीपछि बढी हुने कर्मचारीहरूलाई आवश्यकताअनुसार सङ्घीय, प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ।
नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र धेरै हुने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो।
सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि सङ्घीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढाउने निर्णय पनि गरेका छन्।
जनसम्पर्क धेरै हुने कार्यालयहरूको सेवालाई सहज, सरल र बिचौलियामुक्त बनाउने प्रतिबद्धतासहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सघाउनुपर्ने निर्णय पनि सचिवको बैठकले गरेको छ। बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएयता पहिलो पटक सचिवहरूको बैठक बसेको हो।
