यी सात तरिकाबाट हुन्छ अनलाइन ठगी: कसरी बच्न सकिन्छ, यस्तो छ-राष्ट्र बैंकको आग्रह
काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धिका लागि स्क्याम अर्थात् अनलाइन ठगीका विभिन्न स्वरूपबारे सचेत रहन आग्रह गरेको छ। केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले हालै यससम्बन्धी जनचेतनामूलक विवरण सार्वजनिक गरेको हो।
‘स्क्याम’ भनेको नजान्नेलाई झुक्याएर, जान्नेलाई लोभ्याएर वा थर्काएर कसैको पैसा, सम्पत्ति, सामान वा व्यक्तिगत जानकारी लिने गैरकानुनी काम हो। स्क्यामरले विभिन्न माध्यम सामाजिक सञ्जाल, इमेल, एसएमएस, वेबसाइट, फोन वा आफैँ उपस्थित भएर सम्पर्क स्थापित गरी विभिन्न तरिका अपनाउने गरेका छन्।
स्क्यामका प्रमुख सात तरिकाहरू
लट्री स्क्याम- नचाहिएको पैसा, लट्री, उपहार, सम्पत्ति वा रकम हस्तान्तरण हुने बहानामा अग्रिम कर, शुल्क वा पैसा, खाता नम्बर वा अन्य वित्तीय विवरण माग गर्ने।
लगानी स्क्याम- अपत्यारिलो लगानी, धेरै नाफा र जोखिम छैन भनी झुटो आश्वासन दिएर पैसा हाल्न लगाउने र ठूलो रकम भएपछि सम्पर्कविहीन हुने।
जागिर स्क्याम- नक्कली जागिरको प्रस्ताव दिएर दर्ता शुल्क वा अन्य रकम लिने तथा आपराधिक रकम ओसारपसार गर्न लगाउने।
व्यापार स्क्याम- विभिन्न वस्तु तथा सेवामा लोभ्याउने स्किम देखाएर पैसा उठाउने र कारोबार गरेको संस्थाभन्दा फरक व्यक्तिको खातामा पैसा पठाउन लगाउने।
रोमान्स स्क्याम- सामाजिक सञ्जालमा जोडिएर प्रेम सम्बन्धको बहानामा पैसा माग्ने वा वित्तीय सूचना चोर्ने।
परिचित भेष धारण गरी गरिने स्क्याम- विभिन्न निकायका कर्मचारी, साथीभाइ, आफन्त वा चिनेको व्यक्ति हुँ भन्दै तुरुन्तै गलत खातामा पेमेन्ट गर्न लगाउने वा सूचना चोरी गर्ने।
आफैँ उपस्थित भएर गरिने स्क्याम- पसलमा नक्कली क्यूआर राखिदिने, मोबाइलमा पेमेन्ट नगरी पेमेन्ट भएको मेसेज देखाउने वा नियमनकारी निकायको भेषमा झुक्याएर फरक खातामा पैसा पठाउन लगाउने।
राष्ट्र बैंकले कुनै पनि शंका लागेमा तुरुन्तै साइबर ब्युरो वा प्रहरी, वित्तीय संस्था र नियमनकर्तालाई जानकारी गराउन अनुरोध गरेको छ।
सूचना हेर्नुस्

