नेपालमा भारतीय २ र ५ सय रुपैयाँ चल्ने, २५ हजारसम्म ल्याउन,लैजान र सटही गर्न मिल्ने
काठमाडौं। अब नेपालमा पनि भारतीय रुपैयाँ (भारु) २ सय र ५ सयका नोट चल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी नयाँ र स्पष्ट व्यवस्था सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो।
नयाँ व्यवस्था अनुसार सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएर चलनचल्तीमा रहेका २ सय र ५ सय भारतीय रुपैयाँ दरका नोट नेपालमा चल्ने भएका छन। तर, सो भन्दा अगाडि निष्कासन भएका नोटहरु पनि प्रतिबन्ध नै रहनेछन्।
त्यस्तै, नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म प्रचलित व्यवस्थाबमोजित ल्याउन, लैजान तथा सटही गर्न सक्ने पनि राष्ट्र बैंकले व्यवस्था गरेको छ। सो सीमा भन्दा बढी रकम भएमा अनिवार्य भन्सार घोषणा गरेर प्रमाणिकरण गराउनुपर्नेछ।
राष्ट्र बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य देशबाट नेपाल ल्याउन भने पूर्ण रुपमा निषेध गरेको छ ।
