मोबाइल नदिएको निहुँमा साथीको हत्या
काठमाडौं। मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ ।
यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको बिहीबार स्थानीय मनखोलामा शव फेला परेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जन्मदिन मनाउने क्रममा साथीहरू मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइलका विषयमा झगडा हुँदा कुटपिट गरीको थापाको हत्या गरिएको पाइएको कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँले बताए।
‘लजिन थापासँग रहेको आइफोन मोबाइल माग्दा नदिएपछि उनीहरुबीच एकापसमा झगडा भएको देखिन्छ’, उनले भने, ‘कुटपिटबाट बेहोस भएका लजिनको मृत्यु भएपछि घटनास्थलदेखि झन्डै आधा घण्टा दूरीमा शव लुकाएर राखेको अवस्था भेटिएको छ।
जन्मदिन मनाउने क्रममा सात जना रहे पनि अरु घरतर्फ लागेपछि रेमबहादुर र ददी लजिन थापालाई पछ्याउँदै गएर एकान्तस्थलमा पुगी आक्रमण गरेको प्रहरी उपरीक्षक प्रसाईँले बताए।
साउन १ गत राति २ बजेर ३० मिनेट बजेसम्म लजिनका साथीहरू मिलेर स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसी मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । जन्मदिन मनाउने क्रममा एक जना नौ वर्षीय बालकसमेत सहभागी रहेको प्रहरीले जनाएको छ।
हप्ता दिनसम्म लजिनको अवस्था पत्ता नलागेपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरालगायतको सहयोगबाट खोजतलास गरेको थियो।
नियन्त्रणमा लिएकाहरूलाई व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौँको धुम्रबाराहीस्थित साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि घर आएका थिए । साथीको जन्मदिन मनाउन गएका उनी आफ्नै साथीहरूबाट हत्याको सिकार भएका छन्।
