देवानगञ्ज घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरुको निस्शुल्क र प्रभावकारी उपचार गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

आयोगले घटनापश्चात् सुनसरीमा देखा परेको कमजोर शान्तिसुरक्षाको स्थितिलाई मजबुत बनाउन पनि निर्देशन दिएको छ।

आयोगका अनुसार सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रारम्भिक अनुगमन गरिरहेको छ।

पोलमा झण्डा राख्ने विषयमा दुई समुदायबीच विवाद भएको, डिजे बजाउने क्रममा विवाद उत्कर्षमा पुगेको, विवाद बढ्दै जाँदा दुई पक्ष बीच तोडफोड र झडप सुरु भएको, झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाएको, प्रहरीको गोली लागि ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै ९ जना घाइते भएका र घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको अनुगमनका क्रममा पाइएको जनाइएको छ।

घाइतेहरुमध्ये ४ जनाको न्यूरो अस्पताल, ४ जनाको विराट नर्सिङ होम र १ जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको आयोगलाई जानकारी प्राप्त भएको उल्लेख छ।

यस्तै, आयोगले शान्तिपूर्णरुपमा वार्ता र संवादका माध्यमबाट विवादको समाधान खोजी वातावरणलाई सहज बनाउँदै सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्‍याउन राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवम् सर्वसाधारणलाई अनुरोध गरेको छ।