निगमले ग्यास पर्याप्त भन्छ-ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने

काठमाडौं। नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौज्दात रहेको दाबी गरे पनि बजारमा अभाव उस्तै छ।
निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भए पनि डिपो सञ्चालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन्। सरकारले भरी सिलिन्डर बजार पठाउन थालेको दुई हप्ता नबित्दै काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँमा अभाव हुन थालेको हो। बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र सप्लायरकहाँ पुगेर खाली सिलिन्डर लाइनमा राख्न थालेका छन्।
एउटा ग्यास साट्न मात्रै पनि हप्तौँसम्म कुर्नुपरेको उपभोक्ताको गुनासो छ । कतिपय उपभोक्ता भने ग्यास सिलिन्डर बोकेर दिनभर लाइनमा बस्ने गरेका छन्। दिनभर लाइनमा बस्दा पनि ग्यास नपाएको भन्दै उपभोक्ताले सरकारको आलोचना गरिरहेका छन्।
आयल निगमको टेकु कार्यालय तथा बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास डिपो, अरू डिलर र विक्रेताहरूको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन यथावत् छ।
यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको छ। विभागले हिजो काठमाण्डौ उपत्यकाका विभिन्न ११ वटा उद्योग तथा व्यवसायी फर्ममा अनुगमन गरी कारबाही तथा आवश्यक निर्देशन दिएको हो।
केही दिनयता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ।
