नर्सिङ सुधारको माग गर्दै प्रदर्शन, अनशनरत रानाभाट आईसीयूमा
काठमाडौं। विभिन्न १५ बुँदे माग राख्दै आन्दोलनरत नर्सहरूले आज काठमाडौंको वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।
नर्सिङ क्षेत्रको सुधार र न्यूनतम पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने मागसहित आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन्। अनशनको पाँचौँ दिन रानाभाटको स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई वीर अस्पतालको आईसीयूमा सारिएको छ।
यसैबीच, स्वास्थ्य मन्त्री निशा मेहताले रानाभाटको आन्दोलनप्रति मन्त्रालय गम्भीर रहेको र उच्चस्तरीय संवादमार्फत समस्याको सकारात्मक समाधान खोज्ने प्रयास भइरहेको बताउनुभएको छ । तर, अनशनरत रानाभाटले भने स्वास्थ्य, शिक्षा, श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित अधिकार सम्पन्न वार्ता टोलीसँग मात्र छलफल गर्ने अडान राख्नुभएको छ।
नेपाल नर्सिङ संघले पनि विगतमा भएका सहमति तत्काल कार्यान्वयन गरी अनशनरत रानाभाटको जीवन रक्षाका लागि अविलम्ब कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।
