घाटामा रहेका र बन्द अवस्थामा पुगेका उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दाबी

काठमाडौं। वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका राष्ट्रिय उद्योगहरू के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् रु आम नागरिकमा रहेको यो शङ्कालाई चिर्दै देशका रुग्ण उद्योगहरूमा सुधारका नयाँ ढोका खुल्न थालेका छन्।

सरकारले शुरूदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बताएका छन्।

उनले फेसबुकमा लामो स्टाटस लेख्दै नियत सफा र जिम्मेवारीप्रति इमान्दारिता देखाउँदा जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सकारात्मक परिणाम ल्याउन सकिने उल्लेख गरेका छन्।

उनका अनुसार वर्षौंसम्म घाटामा सञ्चालन हुँदै आएको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनाको अवधिमा मात्रै २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गर्न सफल भएको छ।

विश्व स्वास्थ्य संगठनको ’गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा भारी वृद्धि भएको हो। सोही कारण कम्पनीले गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो भने चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने महत्त्वाकांक्षी लक्ष्य लिइएको छ।

सरकारले जारी गर्ने तयारी गरिरहेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत लिमिटेडबाट आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको उनको भनाइ छ। सोही योजनाअनुरूप यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। हाल ११ प्रकारका औषधिहरू नियमित रूपमा उत्पादन भइरहेका छन्।

लामो समयदेखि पूर्ण रूपमा बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन अहिले परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको उनले बताएका छन्। सेनाको सहयोगमा तान ९लुम० मर्मत भएपछि हाल परीक्षण उत्पादन सुरु भई केही मात्रामा कपडा उत्पादनसमेत भइसकेको छ। परीक्षण सफल भएपछि नेपाल सरकारले नै यसको पूर्णरूपमा सञ्चालन गर्ने उनको भनाइ छ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वित्तीय अवस्थामा पनि सुधारका संकेत देखिएको प्रधानमन्त्रीको भनाई छ। निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्मको अवधिमा ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो।

यस अवधिमा निगमको विमानहरूको सीट उपयोगीता ९अकुपेन्सी० बढेर ८६ प्रतिशत पुगेको छ, जुन गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो। सुधारकै यो अवधिमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिइएको ऋणबापतको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत नियमित रूपमा भुक्तानी गरिएको प्रधानमन्त्रीको जिकिर छ।

दुग्ध विकास संस्थान (डीडीसी)मा देखिएका पुराना समस्याहरूलाई हल गर्दै किसानको रोकिएको बक्यौता भुक्तानीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बालेनको भनाइ छ। उनका अनुसार फलस्वरुप, ८ महिनाको भुक्तानी चक्रलाई घटाएर २ देखि ३ महिनामा ९३५ करोड रुपैयाँ० मा झारिएको छ भने किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकमसमेत थप गरिएको छ।

संस्थानमा सुधारका प्रयासहरू थालिएसँगै दैनिक बिक्री ३५ प्रतिशतले बढेर राजस्व संकलन औषत दैनिक ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको छ। कानुनविपरीत विगतदेखि सबै कर्मचारीलाई निःशुल्क वितरण गरिँदै आएको घ्यू र दूधको सुविधा कटौती गरेर मात्रै वार्षिक झन्डै ३ करोड रुपैयाँ बचत गरिएको छ। डीडीसीले आगामी दिनमा खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको छ भने नगरकोट केन्द्रबाट चिज उत्पादनसमेत पुनः शुरू गरिन लागेको उनले लेखेका छन्।

नयाँ सरकार गठन भएपश्चात् सिंहदरबार वैद्यखाना विकास समितिबाट ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारमा पठाइएको उल्लेख गर्दै गत आर्थिक वर्षमा वैद्यखानाको औषधिको कुल कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४ गुणाले बढी हो।

हाल सरकारद्वारा निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्नेतर्फ अग्रसर भएको छ। संस्थाले हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको छ भने चालु आर्थिक वर्षभित्रै १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिएको उनले बताएका छन्। साथै, यसै वर्ष पाउडर र ट्याब्लेट औषधि उत्पादनमा ’जिएमपी’ मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य पनि अघि सारिएको छ। ’हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ भन्ने विश्वास बलियो भएको छ,’ उनले लेखेका छन्।