प्रमुख निर्वाचन आयुक्त कार्कीको हातबाट युवा व्यवसायी सुवास कार्की सम्मानित
काठमाडौं। कार्की समाजले विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूको सम्मान तथा समाजलाई थप संगठित र प्रभावकारी बनाउने उद्देश्यले सम्मान कार्यक्रम सम्पन्न गरेको छ। ललितपुरस्थित रिभाइभ लेजर पार्कमा आयोजित कार्यक्रममा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
युवा व्यवसायी तथा कार्यक्रम संयोजक सुवास कार्कीका अनुसार कार्की समाजको आयोजनामा सम्पन्न कार्यक्रममा समाज, राजनीति, प्रशासन, सुरक्षा, न्याय, कला तथा व्यवसायलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको सहभागिता रहेको बताउनु भयो।
कार्यक्रममा माननीय सांसद डा.अर्जुन कार्की, वरिष्ठ लोकगायक बमबहादुर कार्की, प्रभु बैंकका अध्यक्ष किशोरजंग कार्की, न्यायाधीशद्वय टेकबहादुर कार्की र तिलक कार्की, अवकाशप्राप्त उपरथी महेशविक्रम कार्की, अवकाशप्राप्त महासेनानी प्रकाशजंग कार्की, पूर्वसहसचिव वेदबहादुर कार्की, गृह मन्त्रालयका प्रमुख स्वकीय सचिव जेम्स कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यसै क्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले कार्यक्रम संयोजक तथा युवा व्यवसायी सुवास कार्कीलाई सम्मान गर्नुभएको थियो। कार्की समाजको सम्मान कार्यक्रम आयोजना गरी विभिन्न क्षेत्रका व्यक्तित्वलाई एउटै थलोमा जोड्ने पहल गरेकोमा प्रमुख निर्वाचन आयुक्त कार्कीले सुवास कार्कीप्रति आभार व्यक्त गर्दै सम्मान गर्नुभएको हो।
त्यस्तै कार्की समाजद्वारा आयोजित सम्मान कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई सांसद डा.अर्जुन कार्की र अवकाशप्राप्त उपरथी महेशविक्रम कार्कीले शुभकामना दिएका थि्ए।
ललितपुरस्थित रिभाइभ लेजर पार्कमा आयोजित कार्यक्रममा सांसद डा.कार्की र अवकाशप्राप्त उपरथी कार्कीले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई शुभकामना तथा बधाई व्यक्त गरेका हुन्।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त कार्कीको योगदान र जिम्मेवारीको चर्चा गर्दै वक्ताहरूले निर्वाचन प्रणालीलाई थप विश्वसनीय, निष्पक्ष र प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न सफलताको शुभकामना व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा सहभागी वक्ताहरूले कार्की समाजलाई थप व्यवस्थित, बलियो र प्रभावकारी बनाउँदै देशभर छरिएर रहेका कार्की परिवारलाई जोड्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले समाजको संस्थागत विकाससँगै आपसी सम्बन्ध, सहकार्य र भाइचारालाई अझ मजबुत बनाउन सबै कार्की परिवारले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने धारणा राखेका थिए।
देशका विभिन्न भूभागमा रहेका कार्की परिवारबीच आपसी परिचय, सहकार्य र सम्बन्ध विस्तारका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।
सम्मान कार्यक्रमले समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तालाई समेत सामाजिक जिम्मेवारी र योगदानका लागि प्रेरित गर्ने वक्ताहरूले बताएका थिए। उनीहरूले सम्मान तथा अभिनन्दनका कार्यक्रममार्फत समाजका अग्रजहरूको योगदानलाई स्मरण गर्दै आगामी पुस्तालाई सकारात्मक बाटोमा अघि बढ्न प्रेरणा मिल्ने धारणा राखेका थिए।
कार्यक्रम संयोजक सुवास कार्कीले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा कार्की समाजका सदस्यहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको बताए। उहाँले आगामी दिनमा पनि समाजलाई थप संगठित बनाउँदै कार्की परिवारबीचको सम्बन्ध विस्तार र सामाजिक सहकार्यका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
कार्की समाजले आयोजना गरेको उक्त सम्मान कार्यक्रमले समाजका अग्रज तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वलाई सम्मान गर्नुका साथै देशभर रहेका कार्की परिवारलाई एकताबद्ध गर्दै सामाजिक सहकार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
