रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नौ जना बेपत्ता

रोल्पा। रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर र गोठ पुरिँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन् भने नौ जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा स्थानीय १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।
पहिरोमा परेर स्थानीय २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
यस्तै, पहिरोमा परी नौ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन्। पहिरोमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यका लागि स्थानीयवासी र प्रहरीको टोली खटिएको छ।
