हल गोरु पाल्ने कृषक र स्थानीय गाईलाई सुत्केरी भत्ता

तस्वीर-एआइ

काठमाडौं। पर्वत जिल्लाको बिहादी गाउँपालिकाले परम्परागत कृषि प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका हल गोरुको संरक्षण तथा स्थानीय गाईको प्रवद्र्धन गर्ने उद्देश्यले कृषकलाई अनुदान तथा सुत्केरी भत्ता उपलब्ध गराउने भएको छ।

गाउँपालिकाको पशु विकास शाखाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ‘हल गोरु पाल्ने कृषकलाई अनुदान कार्यक्रम’ सञ्चालन गर्न लागेको हो। कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र हल गोरु पाल्ने कृषकलाई प्रतिहल गोरु १० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइनेछ। यस कार्यक्रमका लागि गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

अनुदान प्राप्त गर्न इच्छुक हल गोरु पाल्ने कृषकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

आवेदनसँग निवेदन, वडा कार्यालयको सिफारिस, निवेदकको नागरिकताको प्रतिलिपि, नियमित खोप लगाएको खोप कार्डको प्रतिलिपि, बिमा पोलिसिको प्रतिलिपि र हल गोरुको ट्यागसहितको कलर फोटो पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ। रीत नपुगेका वा म्याद नाघी प्राप्त भएका आवेदन छनोटमा समावेश नहुने बताइएको छ।

त्यसै गरी गाउँपालिकाले स्थानीयरलोकल गाई संरक्षण कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०८३/०८४ को साउन महिनादेखि स्थानीय तथा लोकल बहर गाईबाट सुत्केरी भएका स्थानीय गाई पालक कृषकलाई सुत्केरी भत्ता उपलब्ध गराइनेछ। यस कार्यक्रमका लागि एक लाख २५ हजार रुपैयाँ बजेट छुट्टाइएको छ भने प्रत्येक सुत्केरी गाईका लागि दुई हजार पाँच सय रुपैयाँका दरले भत्ता प्रदान गरिनेछ।

स्थानीय गाई संरक्षण कार्यक्रमअन्तर्गत कृषकले निवेदन, वडा कार्यालयको सिफारिस, निवेदकको नागरिकताको प्रतिलिपि, सुत्केरी गाईको बाछारबाछीसहितको फोटो तथा नियमित खोप लगाएको खोप कार्डको प्रतिलिपि पेस गर्नुपर्नेछ।

गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले स्थानीय कृषि प्रणाली र पशुपालनको संरक्षणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताएका छन्। परम्परागत रूपमा कृषि कार्यमा प्रयोग हुँदै आएका हल गोरुको संरक्षणसँगै स्थानीय जातका गाईको सङ्ख्या बढाउन सके स्थानीय पशु सम्पदाको संरक्षण, कृषकको आम्दानी वृद्धि र कृषि प्रणालीको दिगोपनमा योगदान पुग्ने उनको भनाइ छ।

अध्यक्ष गुरुङले कृषकलाई प्रोत्साहित गर्दै स्थानीय पशु स्रोतको संरक्षण र उत्पादनमूलक पशुपालनलाई प्राथमिकतामा राखेर गाउँपालिकाले कार्यक्रम अघि बढाएको बताए।

पछिल्लो समय कृषि क्षेत्रमा यान्त्रिकीकरण बढ्दै जाँदा हल गोरु पाल्ने कृषकको सङ्ख्या घट्दै गएको अवस्थामा गाउँपालिकाको अनुदान कार्यक्रमले परम्परागत कृषि प्रणालीको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गाउँपालिकाको छ।

त्यस्तै स्थानीय जातका गाई संरक्षणका लागि दिइने सुत्केरी भत्ताले कृषकलाई स्थानीय गाई पाल्न प्रोत्साहन गर्नुका साथै स्थानीय पशु नस्ल संरक्षणमा समेत टेवा पुग्ने विश्वास गरिएको अध्यक्ष गुरुङले बताए।