भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक
काठमाडौं। वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। २० वटा वाणिज्य बैंकमध्ये भदौ महिनाका लागि ५ वटाले ब्याजदर घटाएका छन् भने बाँकी १५ वटाले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।
भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका छन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगत तर्फ ०.२९ प्रतिशत र संस्थागत तर्फ ०.२० प्रतिशतले ब्याजदर कटौती गरेको छ। त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतले ब्याजदर घटाएको छ।
नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, सानिमा, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई गरी १५ वटा बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
