लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिएकी छिन्।

मङ्गलवार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्नामा रहेका वित्तीय पीडितहरूलाई भेट्न पुगेकी भण्डारीले आन्दोलनरत महिलाहरूको स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनले पीडितका मागहरूका बारेमा जानकारी लिएको उल्लेख गर्दै यस विषयमा सरकारले गम्भीर भएर समाधानका उपाय खोज्नुपर्ने बताइन्।

पीडितहरूका समस्या समाधानका लागि विगतको अन्तरिम सरकारले गरेका सम्झौताहरूको स्मरण गराउँदै भण्डारीले वर्तमान सरकारले ती सम्झौताका आधारमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिइन्।