जीवन रित्तिनु त सपनाको पनि दोष हो

जीवन रित्तियाे भने सपनाको के काम ?

विवश कुमार सेजुवाल

बाँच्नकै लागि देखिने अनेक सपनाहरूसँग जीवन बाच्नुको अनेकौं रहर कति काइदाका थिए । मानाैं कि आकाशमा चम्किरहने तारा पनि मनको आँगनमै आएर चमक दिएको महसुस हुने ती दिनका शाहसी जीवनका दुश्साहसी मनलाई कहीँ आकाशमा ताराकै एक किनारामा अनेक सपनाहरू बोकि खडेरीले निर्थुक्कै खाएर डडेलोको संकेत गरिरहेका ती जीवनमा लक्ष्य प्राप्तिका अनेकौं सपनाकै बर्षातले ती जीवनहरुलाइ केही राहत प्रदान गरिँदो हो त आज यसरी आफैले देखेर आफै पालेका सपनाहरूसँग आफ्नै जीवन जोडेर सराप्नु पर्ने दिनसँग यतिसम्म पछुतोको साइरन जोडेर जीवन के हो रु भनी समयसँग प्रश्न गर्नु पर्ने बाध्यता खेप्नु पर्ने थिएन ।

 

प्रष्ट भन्न नसकेर अनेकौ बहानामा म त्यो रातलाई झुटो बोलिरहेको थिएँ । म उमेरले सानै थिएँ तर त्यो सत्य बोलिरहेको थिइनँ । म स्कुलमा कखरा सिक्दै थिएँ, त्यो पूरा भन्न सकिरहेको थिइनँ । किनकि म सपनाको भोको थिए । मेरो हजुरबुवा र मेरो बाबाले जीवन हारेर आफू मरेको ईतिहास मसँग सगल रूपमा जिबित नै थियो । प्रायः मस्त निन्द्रामा देखिने ती सुन्दर सपनाहरू म निदाउन नपाउँदै ती सपनाहरूको अट्कल काटेर तिनै सपनाहरू सित त्यो रातलाई ढल्न नदिइ मेरा यी नयन जुधाइरहेका थिएँ र कल्पना गर्न थाले । सपनाहरू देख्नु त मेरो दोष हुँदै होइन । किनकि म ती निर्दोष रातसँग थिए । निन्द्राबाट पन्छिन खोजेका मेरो आँखाको नानीको डिलमा अनिदोको बहाना बुनेर एक झप्को चिम्लिन खोज्नु त्यो पनि त मेरो दोष थिएन । लाथ्यो धेरै बर्षसम्म थन्क्याइएका सपनासँग हाम्रो जीवन मात्रै जोडिएको भए त जीवनलाई अनेकौं बहानामा उतारेर जीवन जिउन सजिलो नै थियो । तर यहाँ जुन जीवनले जीवनका सपनाहरू देखें तिनै जीवनको कुनै मूल्य रहेन । रित्तिएर बिरक्तिएका जीवनसित आज तिनै सपनाले फेरी बाँच्नका लागि अनेक चोटी घच्घच्याउँदा पनि ती जीवनको कुनै चलिरहने रिदमका प्रहर सकिएको यो समयसँग धेरै चोटी चिच्याई रहु जस्तो लाग्छ । जीवन रित्तिए पछि जीवन जिउन सिकाउने ती सपनाहरूको के काम रु म अल्मलिएर होइन, म थाकेर होइन, म भागेर होइन ? म जे देखिरहेको छु । त्यही सत्य जीवनको कथा लेखिएको छु ।

 

दोषि त उनीहरू हुँदै होइनन् । उनीहरूमा मानवत्व थिएन र उनीहरू पन्छिन पाउने उनीहरूको अधिकार छ । उनिहरूले बगैचाका फुलहरू टिपेर प्रचण्ड घाममा डढाउनु थियो डढाए । जबसम्म ती बगैचामा चमक देखिन्थ्यो । तबसम्म फूलको सुगन्ध लिई त्यही फुलको रस अनेकौं चोटी नसामा प्रयोग गरेर जहाँ कुपोषणले ओइलिएका उनिहरूका ती जीवन धेरै खाइलाग्दा देखिए । आज तिनै फूल निमोठेर समालियका जीबनसित हाम्रो कुनै सम्बन्ध नरहनु अनौठो होइन । अनौठो त यहाँ यो छ । अझैसम्म हामीलाई अचानो थापेर आफ्नो जीवनको भरपुर मोज गर्न छोडेका छैनन् । म सोचिरहेको छु उनीहरूको अचानो बनी जिइरहेको हाम्रो जीवनले जीवनको भिक्षा माग्नु परेको छैन । जीवनदेखि जितेरै अगाडी बढिरहेको छ । तर अहिले उनिहरू बादशाहाको घोडामा उभिएर सोचिरहेका होलान् । हाम्रो जीवन आफ्नो लागि अचानो थाम्नु बाहेक अरू कामको लायक देखिरहेका छैनन् । त्यही उनीहरूको अनिष्ट ब्यवहारसँग जोडिएका जीवन फेरी नयाँ–नयाँ जीवनको अग्नि परिक्षामा बालुवाको मरूभूमिमा मडारिदै खेलिरहेका छन् । थाहा छ मलाई बालुवाभित्र सुन हुन्छ । त्यही सुनको पबित्रता निकाल्न यी अपहेलित देखिने संघर्षरत जीवनको ठूलो गुण हुन्छ । ति जीवन त्यत्तिकै गुण लायक देखिदैनन् अनेक जीवनका हण्डर खानुपर्छ । अब त हण्डर बिनाको जीवन जिउनु र ठक्कर बिनाका जवानी लम्काउदै हिड्नु बेचैनीको खेती जस्तै लाग्न थालेको छ । त्यसैले हो, मैले भन्ने गरेको जीवन सपनाहरूसित होइन सपनाहरू जीवनसित जोडेर हेर्ने मेरो ठूलो रहर छ ।

 

तोपको धमाका, गोलिका पर्रा र दुश्मनको पन्जाबाट जो धौधौले बाँचेका छन्, उनै जीबन आज कुनै ब्यस्त उराठ लाग्दो सहरको एक किनारामा अरु बचाएर आफू बाच्ने साहारा खोजिरहेका छन् । जसले युद्धको धङधङीमा आफू र आफ्नो सन्तान मर्ने डरले बेलैमा आत्मसमर्पणको बाटो रोज्ने निर्णय गरे उनिहरू जसले यात्राको यात्रानुभूती कुनै गरेका छैनन् । उनीहरूले बम, बारुद र तोपको गर्जनसँग जीवन साट्नुको अनुभूती सुनाउँदै हिडिरहेका छन् । जसको बिरुद्ध हिजो संघर्षको सुरुवाती भयो, आज उनैसँग मित्रताको घाँटी जोडिरहेका छन् । यो समयको दोष हँुदै होइन । समय निरन्तर हिडिरहने एक अनबरत यात्री हो । योसँग कुनै पक्षपात छैन । त्योसँग जोडिएर आफ्नो अनेक रूप फेर्ने ईमानदार, निर्दोष आत्मामा संगिनका तिखा बाणले मुटु धसिरहने ती दानबको दोस हो । निर्दोष जीवन त यसै बाँचेका छन्, उसै बाचेका छन् । तर बाँच्नुको पनि आफ्नै बाध्यता छन् र पो म यहाँ म र मेरो पुस्तालाई चहर्याइरहेको घाउसँग मुटु जोडेर बोलिरहेको छु । अनेक चोटी म आफै चिन्न सकिरहेको छैन । जीवनका सुन्दर गुण के हुन् । जीवन ज्यून सिकाउनुका अनेक बयान के हुन् । यी सबै–सबै सडक पेटीमा सधै जसो बगिरहने दुर्गन्धित नालिका ढल जस्तै देखिएका छन् । भोगाई अनेक छन् । जीवनदेखि हारेर होइन ।

 

ज्यूँदा मानिसहरू जलाउन खोजे ऐया‘।। ऐया‘‘ को आवाज आइरहेने ती चिहान घाटका ओसिला छालहरुमा आजभोली मरेकै लासहरू पनि चिच्याइरहेको सुन्दा म धेरै पटक भावबिह्ल भएको छु । मैले आफू अनेकचोटी ती मरेका लासहरूसँग अङ्कमाल गरेको छु । उनिहरूको सेलाएको भौतिक शरीर पटक्कै बोलिरहेको थिएन । त्यो चिहान घाटमा जब बाचुन्जेल अनेकौं अनेक जीवन मरणबाट रचिएका जसले एक पुस्ताको रगतबाट महागाथाको अजम्बरी रचना गरेर जसले आफ्नो प्राण छोडेको पत्तो पाएनन् । तिनै बीरको सपनामाथी आफ्नो जीवन रक्षाको भबिश्य जोडेर जब जीवन यापनको रेलमार्ग बनाए त्यही पीडामा छट्पटी रहेका हुन् । ती निर्दोष लासका दोषि आत्माहरू । जो आज भोली यो सहरमा धेरै पाखण्डीहरू रहरले भनिरहेका छन् । हामीले जनयुद्धको बेला १६ हजारको रगत बगायौं । उनिहरूले त्यो पनि रहरले भनिरहेका छन् । जनयुद्धको बेला हजारौं घाइते योद्धाको जन्म दियांै । यो बुझिरहेका छैनन् रगत बगाएर ज्यान दिनेहरूका लालाबाला आज बाबाको नाम अक्षरमा देखिरहेका छन् स्नेह अनुभव गर्न पाएका छैनन् । जो घाइते भएर अपाङ्ग भएका छन् उनीहरू संसार देखिरहेका छन् । घुम्न सकिरहेका छैनन् । यो पीडामा जलेका ती मनहरूलाई सान्त्वनाको उपचार केही नखोजी अझ रहरै रहरमा हासोको खित्का छोड्दै आफ्नो स्वार्थी छाती पिटेर घाइते र सहिदको नाममा अनेकौं चोटी शत्रु हसाउने गरेर खुला मञ्चको माइकमा यसरी उनिहरू ढ्वाङ्ग फुकिरहदा उनिहरू ती दिबङ्गत आत्मा र घाइतेको पीडामा भावुकको बनावटी रूपसम्म देख्न नसकेको हाम्रो पुस्तालाई यीनै पीडाको गहिराइमा कहिलेसम्म झेलिनु पर्ने हो । यो अनिश्चितताको कालो बादलभित्र रोइरहने हाम्रा मन झनै चिन्ताजनक छन् ।

 

म धेरै पटक सोचिरहेको छु । आफैले गरेको आफ्नै काममा र आफ्नो इतिहासको बिरोधि जस्तै गरी उभिएको छु । आखिर म बिरोधी हुँदैहोइन र हुन यो सास रहुन्जेल सक्दिन । तर जो म माथी बिरोधीको रूप देखिएको छ अहिले यस घडीमा बिरोधि नै हुनु सहि छ र म यो ठाँउबाट बोलिरहेको छु । मैले बाँचेर यो भनिरहेकोमा पटक्कै गर्व गरेको छैन । गर्व गर्नु थियो तर आज सकिरहेको छैन । कारण अनेक छन् । निरिह भएको छु ।

 

जुन रातसँग मैले झुपडीबाट झुटो बोलेर मैले मेरो यात्राको थालनी गरेको थिए । त्यो रातले अझैसम्म झस्काइरहेको छ । उमेरले सानै थिए । सपनाहरू कति हुन् कति । हिड्न सकिरहेको थिइन यात्राको गन्तव्य कता हो कता १६ काटेर १७ मा दौडिरहेको हुँदो हो । यात्रा गण्डकी अञ्चलको पाल्पा दोभानमा मिसिएर अन्त भएछ । यही यात्राको ब्यस्त समयसँग कुदिरहनाले मैले मेरो प्रेमिका जो जीवनमा पहिलोपटक गुमाए । संगै झागिदै गरेको प्रेमसँग जीवनको अर्धबैँस गुमाए । शरीरका नसामा जवानीको रगत भलभल्ती उम्लिरहेको थियो । त्यो रगत केही थोपा त्यही यात्रारत भूमिमा पोखे । यी सबै–सबै त्याग मेरो जीवनको फाइदामा निस्केनन् उनीहरूकोलागि ब्याज बने । आफूसँगको एउटा खाली रित्तो नाफाको जीवन वाहेक अरू के नै छ र रु सबै थोक सबै समर्पण उनिहरूको लागि जस्तै भए ।

 

जीवनबाट हारेर म निराशातिर गएको पटक्कै होइन । जीवन मैले सघर्ष मै देखेको छु । जीवनदेखि हार्ने भए यही जीवनले लडिने युद्ध रोज्ने पटक्कै थिइन । युद्ध अनुभव बटुलेर जीवन जितेको एक घाइते सिपाही हुँ म । आमाको काखबाट निस्किएको मेरो यो सगल जीवन लाई १९ नकट्दै ९ ठाउँमा उद्रेको चोली सिए जसरी पटक–पटक सिलाउँदै हिडिरहेको छु । सहयात्री बनेका एक हुल बगरेहरू । जो ईमान जोगाउन नसकी आफू बेचिएर जीवनदेखि हार खाइ आफू मात्रै बाँच्नको लागि सत्तामा घुमिरहेको देख्दा पटक्कै मन दुखेको छैन । बरू जीवनभर निको नहुने गरी दुखेको मन यो छ । जोसँग हिजो बिश्वासको नाता जोडियो र पो आज म र मेरो पुस्ता यो अबस्थामा पुग्यौं । त्यसैले सपनाहरू उस्तै गरी फिजिएर घुमिरहेका छन् । धौ–धौले बाँचेका जीवन रित्तिएर सकिएका छन् । बोल्ने बहाना पारी अनेक चोटी चिच्याइरहेका छन् । पीडै पीडाले भरिएका जीवनसित सपनाहरू मात्रै कहाँ सन्तुष्टिका आहारा हुन सक्छन् । बरू जति सकिन्छ ती निर्दोष जीवन सपना बल्झिएको शोकमा धरधरी रुन्छन् । जीवन रित्तिए भने सपनाको के काम ? यस्तै प्रश्नको उत्तरमा आफू नहारेको, नडराएको, आफ्नो सजिब संघर्षरत बिम्ब देखाउछन् । जीवनले जीवनको बाटो देखाउछ सपना त केवल जीवनलाई अर्थ्याउने माध्यम हो । त्यसैले हो, रित्तिएको जीवनमा सपनाको के काम र ?