घरेलु मैदानमै बराबरीमा रोकियो बार्सिलोना

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना घरेलु मैदानमै बराबरीमा रोकिएको छ । शनिबार बेलुका भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग आफ्नै मैदानमा २ – २ गोलको बराबरीमा रोकिएको हो ।

 

नाउ क्याम्पमा सेल्टाविरुद्ध एकतर्फी खेल खेलेपनि बार्सिलोना पहिलो हाफको २० मिनेटमै एक गोलले पछि परेको थियो । सेल्टाका इयागो अस्पासले गोल गर्दै सेल्टालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेट नबित्दै बार्सिलोनाले खेल बराबरीमा ल्यायो । खेलको २२ औं मिनेटमा लियोनल मेस्सीले गोल गरेपछि पहिलो १ – १ गोलको बराबरीमा सकियो । दोस्रो हाफमा दुवैले एक एक गोल गर्यो । दोस्रो हाफको ६२ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई २ – १ को अग्रता दिलाए । तर, खेलको ७० औं मिनेटमा सेल्टाका मैक्सिमिलियानो गोमेजले एक गोल गर्दै खेल २ – २ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन् सकेन र खेल बराबरीमा सकियो ।

 

घरेलु मैदानमा बराबरीमा रोकिएपनि बार्सिलोना ३६ अंक जोडेर लिगको शिर्ष स्थानमा यथावत छ । सेल्टा १८ अंक जोडेर लिगको आठौं स्थानमा छ ।

 

रियल पनि बराबरीमा, एथ्लेटिकोको जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित साबिकको बिजेता रियल मड्रिड एथ्लेटिको बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको हो ।

 

बिल्बाओको घरेलु मैदानमा भएको खेलमा बल पोजिसनमा पकड जमाएपनि रियल मड्रिडले जित निकाल्न सकेनन् । रियललाई घरेलु मैदानमा बराबरीमा रोक्न बिल्बाओका किपर किप्पाले उत्कृष्ट प्रदर्शन गरेका थिए । रियलको १० पटकको आक्रमण उनले विफल बनाएका थिए । यता, घरेलु टोलीले १० खेलाडीमा सिमित भएको रियल मड्रिडमाथि गोल गर्न सकेन् । खेलको ८६ औं मिनेटमा रियलका कप्तान सर्जियो रामोस दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

 

यो बराबरीपछि रियलले शिर्ष तीन स्थानको क्लबसँग अंक दुरी कम गर्ने मौका गुमाएको छ । बराबरीमा रोकिएपछि रियलले १४ खेलबाट २८ अंक जोडेको छ । रियल लिगको चौथो स्थानमा छ । बिल्बाओ १४ अंक जोडेर लिगको १५ औं स्थानमा छ । स्पेनिस ला लिगा अन्तर्गत नै शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रियल सोसिडाडलाई २ – १ ले पराजित गरेको छ । एथ्लेटिको मड्रिडको जितमा फिलिपे लुइस र एन्टोनियो ग्रीजम्यानले समान एक एक गोल गरे । सोसिडाडका विलियन जोसले एक गोल फर्काए ।

 

यो जितसँगै लिगमा ३० अंक जोडेको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ ।