सीपीएलमा सन्दीपको डेब्यू, पहिलो बलमै लिए विकेट

 

 

काठमाडौँ, साउन २५ । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग सीपीएलमा शानदार डेब्यू गरेका छन् । सीपीएल टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट उनले आज सीपीएलमा डेब्यू गरेका हुन् ।

 

उनले सीपीएलका लागि पहिलो बलमै विकेट लिएर आफ्नो डेब्यू अविश्मरणीय बनाएका छन् । समग्रमा सन्दिपले ४ ओभर बलिंग गरी २ विकेट लिए । गुयानाको राष्ट्रिय रंगशालामा १४७ रनको लक्ष पछ्याएको गुयाना अमेजन वारियर्सबिरुद्ध दोस्रो ओभर बलिंग गर्दै उनले सीपीएल डेब्यू गरेका थिए ।

 

पहिलो बलमै उनले शानदार लेगस्पिनको सदुपयोग गरी गुयाना वारियर्सका भेट्रान ओपनर चाडविक वाल्टनलाई मिडअनको क्षेत्रमा बेन कटिंगको हातबाट क्याच आउट गराए । आफ्नो पहिलो ओभरमा विकेटसहित ३ रन खर्चेका सन्दिप छैटौं ओभरमा बलिंग गर्दा विकेट लिन नसके पनि किफायती बलिंग गरे । उनले मात्र एक रन खर्चिएका थिए ।

 

पहिलो बलमै विकेट लिएपछि विपक्षी ब्याट्सम्यान उनीप्रति सजग देखिन्थे । आठौं ओभरमा आफ्नो तेस्रो स्पेल लिएर आएका सन्दिपले ५ रन खर्चिए । सन्दिपले दोस्रो विकेट भने आफ्नो अन्तिम ओभरमा लिए ।

 

१०औं ओभरको दोस्रो बलमा १६ रन बनाएर खेलिरहेका वेष्ट इण्डिजका ब्याट्सम्यान ज्यासन मोहम्मदलाई डीप कभरको क्षेत्रमा टम कूपरको हातबाट क्याच आउट गराए । त्यस ओभरमा उनले विकेटसहित ४ रन खर्चिए ।

 

१७ वर्षीय युवा लेग स्पिनर सन्दिप लामिछानेको यो तेस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिग हो । यसअघि उनले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलिसकेका छन् भने क्यामडामा टी­(२० प्रतियोगिता खेलेका छन् ।

 

आईपीएलमा दिल्लीबाट उत्कृष्ट प्रदर्शन गरेका उनी त्यसलगत्तै विश्व(११ को टोलीमा समेत परेका थिए । जसले वेष्ट इण्डिजबिरुद्ध लर्डस मैदानमा मैत्रीपूर्ण च्यारिटी खेल खेलेको थियो ।