क्रान्तिकारी पत्रकार महासंघले बुझायो ३ नंं प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र  (यस्तो छ पूर्णपाठ)

मकवानपुर माघ ६ । क्रान्तिकारी पत्रकार महासंघले आज प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौंडेललाई ज्ञापन पत्र बुझाएको छ । क्रान्तिबारी पत्रकार महासंघ तिन नं. प्रदेश संयाेजक रनसुर महताराकाे संयाेजकत्वमा गएकाे पत्रकारकाे एक टाेलीले पत्रकारकाे हक, हित र अधिकारलगायतका विषयलाई समेटेर १३ बुदें ज्ञापन पत्र मुख्यमन्त्रीकै कार्यकक्ष मकवानपुरको हेटौडामा बुझाएको हो ।

ज्ञापन पत्र बुझाउन क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसी, प्रदेश संयोजक रनसुर महतारा, केन्द्रीय सदस्य सागर श्रेष्ठ, मकवानपुर पार्टी सेक्रेटरी, सागर,अमित योञ्जन लगायतको टोली मुख्यमन्त्रीको कार्यकक्षमा पुगेको थियो ।

क्रान्तिकारी पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पौडेंलले मागका विषयमा आफू सकारात्मक रहेको र त्यसलाई कार्यान्वयन लैजाने प्रतिबद्धता जनाए ।

उनले पत्रकारले पनि पेशागत मर्यादालाई ख्याल गर्दै पत्रकारिता गर्नुपर्ने बताए । उनले समानुपातिक विज्ञापन प्रणाली लागु गर्नेदेखि महासंघले उठाएका धेरै मागहरु पुरा गर्न आफू तयार रहेको बताए ।

                                               यस्तो छ, ज्ञापन पत्रको पूर्णपाठ 

                       क्रान्तिकारी पत्रकार महासंघ

                                                   तीन नम्बर प्रदेश समिति

श्री माननीय मुख्यमन्त्री ज्यू्
प्रदेश नम्बर तीन, मकवानपुर ।

      विषयः ज्ञापन पत्र

‘क्रान्तिकारी पत्रकार महासंघ’ श्रमजीवि पत्रकारहरुको नेतृत्वदायी संगठन हो । स्थापनाकालदेखि नै यस महासंघले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी, सम्पादकीय स्वतन्त्रता, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, साना लगानीका तथा जनपक्षीय मिडियाहरुको संरक्षण र संवद्र्धन, श्रमजीवि पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेण्टी, मिडियामा वैदेशिक र अपारदर्शी लगानीलाई निषेध, मिडियाका कन्टेन्टको समावेशिकरण, निष्पक्ष, मर्या्दित, जिम्मेवार र जवाफदेहीपूर्ण पत्रकारितालगायतको पक्षमा वकालत गर्दै त्यसका लागि संघर्षलाई समेत संगठित गर्दै आएको छ ।

हाम्रो महासंघ ‘नेपाल पत्रकार महासंघ’लाई छाता संगठन मान्दछ । र, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुको पक्षमा आफूलाई उभ्याउँदै उच्च दायित्वबोधका साथ आफ्नो भूमिकालाई प्रभावकारी रुपमा सम्पादन गर्दै आएको छ । हाम्रो संगठनको यही मिति २०७५ साल माघ २ गते काठमाडौंको बुद्धनगरमा सम्पन्न प्रथम प्रदेश भेला सम्पन्न गरी नयाँ कार्य समिति चयन गरेको छ । उक्त कमिटिको प्रथम बैठकले विभिन्न विषयहरुमाथी व्यापक छलफल गर्दै पत्रकारीता क्षेत्रको विकासका लागि तपशिलका मुद्धाहरुमा राज्यको ध्यानाकर्षण गराउँने निष्कर्ष निकालेको छ । हामी ३ नंं प्रदेश सरकारसंग हाम्रो संगठनले पत्रकारीता क्षेत्रमा देखिएका समस्याहरु दर्शाउँदै अघिसारेका मागहरु अविलम्ब पुरा गर्न माग गर्दछौं । साथै हाम्रा मागहरुप्रति वेवस्ता गरि आलटाल गर्न खोजिए हामी बाध्य भएर संघर्षका कदमहरु चाल्ने विषय समेत जानकारी गराउँदछौं । स्मरण रहोस्, हामीलाई संघर्षमा होमिन बाध्य पानेृ स्थिति नदेखियोस, हामी यहि ज्ञापन पत्र मार्फत राज्यलाई सचेत गराउँन चाहन्छौं।

हाम्रा मागहरु
१- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी मुलुकी संहिता खारेज गर्न गराउन प्रदेश सरकारको तर्फबाट ठोस कदम अगाडि बढाओस् । प्रदेश स्तरमा भइरहेका प्रेस विरोधी ऐन कानून निर्माण प्रक्रिया अविलम्ब बन्द गर्न जोडदार माग गर्दछौं ।

२- यस प्रदेश अन्तर्गतका जिल्लाहरुमा प्रकाशित तथा प्रसारित इलेक्ट्रोनिक तथा छापा मिडिया खासगरी जनपक्षीय पत्रकारिताको भूमिका निर्वाह गरिरहेका साना लगानी तथा स्वरोजगारमुखी मिडियाहरुको संरक्षण र सम्बद्र्धनका लागि ठोस योजना तर्जुमा गरियोस् ।

३- सञ्चार माद्यममाथिको दोहोरो तेहोर कर प्रणाली तत्काल खारेज गरियोस् ।

४- मिडियाहरुको निश्पक्ष वर्गीकरण गरी श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन गरियोस् ।

५-यस प्रदेश अन्तर्गतका सरकारी सूचना तथा विज्ञापनहरु प्रदेशभित्र सञ्चालित मिडियाहरुलाई पहिलो प्राथमिकतामा राखी समानुपातिक ढंगले वितरण गर्ने निर्णय गरियोस् ।

६- पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी गरियोस् ।

७- केन्द्र तथा प्रदेश सरकारका सम्बन्धित निकायहरुमा एउटै पत्रकार परिचय पत्र लागू गर्ने निर्णय गरियोस् ।

८- समाचार लेखेकै कारण विद्युतिय कारोवार ऐन लगाएर पत्रारलाई हतकडी लगाउने कार्य अविलम्ब बन्द गरियोस् ।

९- बरिष्ठ पत्रकारहरुको सम्मान तथा स्वास्थ्य उपचार लगायत भइपरी आउने समस्याको लागि विशेष कोषको स्थापना गरियोस् ।

१०- सञ्चार माद्यमहरुलाई सरकारी सूचना सहज रुपमा उपलव्ध गराइयोस् ।

११- आस्थाको आधारमा पत्रकार र मिडियामाथि विभेद नगरियोस् । ठूलालाई पोस्ने सानालाई सोस्ने नीति र प्रवृत्ति हटाइयोस् ।

१२- प्रदेशभित्रका सरकारी कार्यालयभित्र राखिएका नक्कली नक्सा (नेपाली भूमि गायब पारिएको) हटाई नेपालको वास्तविक नक्सा प्रयोग गरियोस्।

१३- स्थानीय स्तरबाट सञ्चालन हुने सञ्चारमाध्यमहरुको दर्ता तथा सञ्चालन अनुमति प्रकृयालाई स्थानीय स्तरबाटै सहज रुपमा काम गर्ने व्यवस्था मिलाइयोस् ।

प्रदेश संयोजक
रनसुर महतारा