वर्षायाममा संक्रमणबाट यसरी बच्नुहोस् ,अपनाउनुस् यी १0 उपायहरु

अहिले वर्षायाम छ,केही दिनदेखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित भइरहेको छ । यस्तो समयमा अत्याधिक फैलने झाडापखाला, रुघा खोकी जस्ता सरुवा रोगदेखि चिसोका कारण अन्य संक्रमण हुन सक्ने उत्तिकै सम्भावना बढेको हुन्छ । त्यस्तै गरी लामखुट्टेको बिगबिगी अर्काे ठूलो समस्याको रुपमा यस समयमा हामीले भोग्नुपर्ने हुन्छ । मलेरिया, डेन्गु, इन्सेफलाइटिस लगायत रोगको महामारी फैलिन सक्छ । अझ अर्काे विकराल चुनौतीको रुपमा सर्पको चहलपहल बढ्ने हुँदा सर्पदंशको पनि उस्तै चिन्ताको विषय हुन्छ वर्षायाममा ।

 

तसर्थ हामीले गर्न सक्ने सावधानी अपनाउन आवश्यक छ जसले गर्दा रुघाखोकी देखि सर्पको डसाइसम्म बाट बच्न सकिन्छ । झरीको समयमा हामीले केही आधारभूत पक्षहरुलाई ध्यानमा राखेर आफ्नो कार्य सम्पादन गर्नु उपयुक्त हुन्छ । यहाँ उल्लेखित १० वटा कार्यहरुको सकेसम्म अनुसरण गर्नुहोला ।

 

१. छाता वा रैनकोट लिएर हिड्नुस् : अचानक हामी पानीमा भिज्दा शरीरको सन्तुलन गुम्छ र आफूलाई अनुकूल बनाउन कठिन हुन्छ । शरीरको तापक्रममा परिवर्तन आउँछ र ज्वरो, रुघाखोकी लाग्ने समस्या सिर्जना हुन्छ । त्यसैले बाहिर निस्कँदा छाता वा रैनकोट लिएर निस्कनुस् ।

 

२. स्वस्थ्य र भिटामिन ‘सी’ युक्त खाना खानुस् : आफूलाई संक्रमणबाट टाढा राख्ने सहज उपाय स्वस्थ्य खाना हो । प्रशस्त मात्रामा भिटामिनयुक्त फलफूलको सेवन गर्नुस् । जसले आफ्नो प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ र सानातिना इन्फेक्सन् हुनबाट बचाउँछ । भिटामिन सी युक्त खानाको उपयुक्त प्रयोगले चिसो हुनबाट जोगाउँछ ।

 

३. सरसफाइमा ध्यान दिनुस् : वर्षायाममा पानी जमेका ठाउँहरु हुन्छन् । हामीले समात्ने विभिन्न वस्तुहरुबाट पनि किटाण तथा जीवाणुहरु हाम्रो शरीरमा फैलन गइ हामीलाई स्वास्थ्य सम्बन्धी समस्याहरु पैदा हुन सक्छ । खाना खानु अघि वा बाहिरबाट फर्केपछि साबुन पानीले हातगोडा धुने गर्नुले हामीलाई रोगबाट बचाउन मद्दत गर्दछ । अझ भिजेर घर पुगेपछि नुहाउनु धेरै राम्रो हुन्छ किनकी यसले शरीरको तापक्रम सन्तुलन गर्नुका साथै बाहिरबाट आएको विषादी वा किटाणुहरुले असर गर्न पाउँदैन ।

 

४. सकेसम्म लामो यात्राको योजना नबाउनुस् : यतिबेला मनसुन सक्रिय भएकोले देशैभरका ठाउँ ठाउँमा भारी वर्षा भइरहेको अवस्था छ । यस्तो बेलामा जहाँ कहीँ बाढीपहिरोको खतरा हुने गर्छ र बाटोमा समस्या खडा हुन सक्छ । यदि कतै जानैपर्ने जरुरी भए पनि कम्तिमा न्युनतम आवश्यक सामाग्रीहरु जस्तै, आपतकालीन अवस्थामा आफूलाई केही खानेकुरा, एक दुई लिटर पानी, केही जोर कपडाको जोहो गर्न अवश्य सम्झिनुहोला ।

 

५. पर्याप्त पानी पिउनुस् : अविरल झरीको समयमा आफूलाई कुनै किसिमका सरुवा रोग वा महामारीबाट जोगाउन कागती राखेर मनतातो पानी प्रशस्त पिउनुस् । यसले हाम्रो रक्तसञ्चारलाई चुस्त राख्छ । जसले गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ र एलर्जी तथा संक्रमण जस्ता समस्याले सताउदैन ।

 

६. मौसमबारे अपडेट हुनुस् : मौसम परिवर्तन भइरहने हुँदा यसको अपडेटमा रहनुपर्ने हुन्छ । हामीलाई मौसम सम्बन्धी जानकारीले विकल्प रोजेर कार्य सम्पादन गर्न सघाउ पुर्याउँछ ।

 

७. फुटपाथको खाना नखानुस् : यो समयमा बाहिरका खानामा वातावरणीय प्रभावका कारण जीवाणुहरु फैलिएर हामीलाई संक्रमण हुन सक्छ । सकेसम्म आफू वा बालबालिकालाई पनि बाहिरको खाना सेवन गर्न नदिउँ ।

 

८. खेतबारीमा काम गर्दा गमबुट प्रयोग गर्नुस् : अहिलेको समय भनेको धान उत्पादनको निम्ति कडा मेहनत गर्ने समय पनि हो । यसर्थ तपाई खेतबारीमा काम गर्दा समेत सचेत हुन जरुरी छ किनकी यो समयमा सर्पको डर पनि उत्तिकै हुने गर्दछ । घुँडासम्म ढाक्ने जुत्ता वा बुट गरेर काम गरे सर्पको जोखिम कम गर्न सकिन्छ ।

 

९. घर छेउका खाल्डा पुर्नुस् : घर नजिकै रहेका पानी जम्ने खाल्डा खुल्डी पुर्नुस् किनकी पानी जमेको ठाउँमा मलेरिया तथा डेन्गु संक्रमण फैलाउने लामखुट्टे बस्ने गर्छन् । त्यस्तै घर वरपर सफा सुग्घर राख्नुस् । यसो गर्दा पहिलो लामखुट्टेको संख्यामा न्युनिकरण गर्छ भने दोश्रो सर्पहरु पनि आउन पाउँदैनन् ।

 

१०. फिनोलको प्रयोग गर्नुस् : घर वरपर, भान्सा, शौचालय, गाइवस्तुको थलो, आदिमा फिनोलको प्रयोग गरेर किटाणु, लामखुट्टे र सर्प भगाउन सहयोग पुग्छ ।

 

११. बालबालिकाको ख्याल राख्नुस् : यसबेला साना खोल्सी, नाला, खेतबारी देखि नदीहरुमा बाढी आएकोले गर्दा आफ्ना साना बालबालिकालाई उचित निगरानी गर्नुस् । विशेषगरी बालबालिकाहरुलाई खेतको थोरै पानीले पनि दुर्घटना निम्त्याउन सक्छ तसर्थ पूर्णरुपमा उनीहरुको रेखदेख गर्नुस् ।

 

यी बारेमा मनन गर्नुभयो भने झरीको कारणबाट हुने ठूलो समस्यालाई कम गर्न सकिन्छ । याद राख्नुस् अहिलेको सानो सावधानीले भोलिको ठूलो जोखिम न्युनिकरण गर्न सकिन्छ ।– एसपी उप्रेती,