बाजुराको स्थानीय विकास : एक अनुभव र अनुभूती

रमेश प्रसाद पुडासैनी
पृष्ठभुमी
२०६२ कार्तिकमा नेपाल सरकारको निर्णयानुसार सुदूरपश्चिमको अति विकट तर सुन्दर र मनोरम जिल्ला बाजुराको जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीमा सरुवा भएकोले साविकमा कार्यरत जिल्ला विकास समितिको कार्यालय मुस्ताङबाट रमाना भई बाजुरा जानुपर्ने भयो । सुरुमा मुस्ताङ जि.वि.स मागेर इच्छा जाहेर गरेर सरुवा भएको थिएँ । हुन त काजमा मुस्ताङमा स्थानीय विकास अधिकारी कार्यरत रहेको झन्डै ३ महिना मात्र पुगेको थियो । सामान्यतया  नेपाल सरकारले मलाई सोही कार्यालयको सोही पदमा पदस्थापन गर्नुपर्ने थियो ।  स्थानीय विकास मन्त्रालयको कार्य परम्परा पनि त्यस्तै थियो । विधिको विडम्वना नेपाल सरकारमा प्रणालीगत व्यवस्थाले काम गरेन । चाकडी, चाप्लुसी, नातावाद र कृपावाद हावी भयो । स्थानीय विकास मन्त्रालयमा लामो समय काम गरेका हर्ताकर्ता कुनै सहसचिवको भाईलाई जिल्ला विकास समितिमा पदस्थापन गर्नुपर्ने भएछ, त्यसको सिकार भई बाजुरा जि.वि.स.मा सरुवा भएको तितो सत्य समेत पाठक समक्ष राख्न चाहन्छु ।
बाजुरा जाँदाको पहिलो अनुभव
नेपाल सरकारको निर्णय जे–जस्तो भएपनि त्यसलाई शिरोधार्य गर्दै म जिल्ला विकास समितिको कार्यालय, बाजुरा जान तयार भएँ । काठमाडौंबाट बाजुरा जान दुई वटा विकल्प थिए मेरो सामु । पहिलो, काठमाडौं–नेपालगञ्ज–कोल्टी हवाई जहाजमा गई कोल्टीबाट १ एक दिनको पैदल यात्रा तय गर्नुपर्ने थियो भने दोस्रो, काठमाडौंबाट धनगढी हवाई जहाजमा गई धनगढीबाट स्थलमार्ग अछाम हुँदै पैदल हिँडेर २÷३ दिनमा बाजुरा सदरमुकाम मार्तडी पुग्नुपर्ने बाध्यता थियो । मैले यी दुई विकल्पमा पहिलो विकल्प रोजें ।  ०६२ सालमा तत्कालिन अवस्थामा माओवादी विद्रोहले उग्र रुप लिएको थियो । बाजुरा जिल्ला पनि अति प्रभावितमा पर्दथ्यो । सरकारी उच्च पदस्थ कर्मचारी, राजनैतिक पार्टीका नेता, राजनैतिक पार्टिका कार्यकर्ताले सिधा खुलमखुल्ला हिँड्न कठिन र चुनौतीपुर्ण थियो । चन्दा, फिरौती, अपहरण एवं हिंसा र हत्या समेतका क्रियाकलापले प्रश्रय पाएकोले जिल्ला प्रशासन कार्यालय, मार्तडीमा सम्पर्क गर्दा एक्लै कोल्टीबाट नआउनु, तपाईको सुरक्षाको लागि स्कटिङको बन्दोबस्त गछौं भन्ने जवाफ प्राप्त भएकोले सो दिन र भोलीपल्ट कोल्टीमा नै बस्ने निधो गरी त्यहीँ बसियो । भोलिपल्ट कँडेल थरका जनपथ प्रहरी इन्सपेक्टर पनि नेपालगंजबाट कोल्टी हुँदै मार्तडी जान आएका रहेछन् । उनीसँग कोल्टीमा चिनजान भयो । हामी दुवै जनाको पहलमा निरन्तर मार्तडीमा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी कोल्टीबाट मार्तडी जाने विषयमा सम्पर्क हुनथाल्यो । तर मार्तडीबाट एक्लै तपाइँहरु नआउनुहोस् सुरक्षाको थ्रेट छ, हामी गस्ती पठाउँछौ, अनि मात्र आउनुहोस भन्ने जवाफ पाइयो । एक्लै आउनु भयो र बाटामा केही भयो भने हामी जिम्मेवार छैनांै भन्ने सम्मका जवाफ पाईयो । हुन पनि म र इन्सपेक्टर दुवै जना सो ठाउँको लागि नयाँ अनुहार भएकोले उनीहरुको कुरामा विश्वास पनि गर्नुपर्ने स्थिति देखियो । तर सर्वसाधारणसँग कोल्टीमा बुझ्दा त्यति सारो अप्ठेरो स्थानीय विकास अधिकारीको लागि त हँुदैन भन्ने जानकारी प्राप्त भएकोले हामी दुवै एकै साथ मार्तडी जाने निधो गरी मार्तडीबाट आउने सुरक्षाको स्कटिङमा भर पर्न थाल्यौँ । सो स्कटिङ कुर्दा–कुर्दा कोल्टीमा एककाइसौं रात विताउनु परेको कटुसत्य यहाँहरु सँग राख्न चाहन्छु । २१ दिनसम्म कोल्टीमा वन तथा भू–संरक्षण कार्यालयमा पाहुना भएर बस्यौं ।
जिल्लाको समग्र विकास निर्माणको जिम्मा लिएर नयाँ उमंग, जोस र जाँगरकासाथ आएको एक स्थानीय विकास अधिकारीको हौसला बुलन्द हुनको साटो त्यहीँबाट ऋणात्मक हुन लागेको आभाष भयो । तैपनि २२औं दिनका दिन मार्तडीबाट पोरखेको लेकसम्म नेपाल आर्मीका एक टोली स्कटिङको लागि आउने भयो । कोल्टीबाट तपाईहरु पोरखेसम्म आउनुहोस् भन्ने खबर फोनमार्फत कोल्टीमा आएकोले हामी मार्तडीका लागि विहान ५ बजे नै प्रस्थान भयांै । झोला लगायतका सामान लिन जि.वि.स. कार्यालयबाट एक जना सहयोगी आएका थिए भने हिँड्नको लागि जि.वि.स.को घोडा पनि कार्यालयले व्यवस्था गरेको थियो । हामी दुई सरकारी अधिकृत लगायत मार्तडी जाने अन्य धेरै मानिसको एक टोली नै भएकोले बाटाको यात्रा रोमान्चक हुने अनुमान ग¥यौं ।
कोल्टीबाट पाण्डुसेन हुँदै पाण्डुसेन ढम्कनेको उकालो पार गर्दै ठट्टा र हाँसखेल गर्दै हामी पोरखेको लेकमा पुग्यौं । मार्तडीबाट पनि नेपाल आर्मीको एक समुहका साथ त्यसैगरी मानिसहरु पोरखेसम्म आएका रहेछन् । त्यस ठाउँमा मार्तडी र कोल्टीबाट आएका यात्रुहरु विशेष गरी कर्मचारी, प्रहरीका साथ अन्य नेता कार्यकर्ता र सर्वसाधारणको आवतजावत हुँदोरहेछ । कोल्टीबाट आएका मार्तडी तिर जाने र मार्तडीबाट आएका कोल्टीतिर जाने एक किसिमको हिँडडुल गर्ने कार्यतालिका बन्न लागेको रहेछ । जनमानसमा अनावश्यक त्रासको अवस्था रहेछ । हुन पनि २÷४ ठाउँमा अप्रिय घटना घटेका पनि रहेछन् ।
पोरखेमा झन्डै १ घण्टा आराम गरिसकेपछि मार्तडी प्रस्थान भयौं ।  पोरखेको चिसो पानी, भात, रायोको साग र आलुको तरकारी अहिलेसम्म स्मृतिमा ताजै छ । बेलुका ५ बजे जि.वि.स.को कार्यालय पुगियो । जिल्ला पुगेको जानकारी प्रथमत प्र.जि.अ र सुरक्षा निकायहरुलाई गराउनुपर्ने तत्कालिन परिवेस अनुसार सबैलाई खबर गरी त्यस दिन जि.वि.स.का साथीहरुसँग सामान्य चिनजान गरियो । जि.वि.स.को कार्यालय हाताभित्रै क्वार्टर पनि भएकोले भोली पल्ट ठिक १० बजे नै कार्यालयमा उपस्थित भई स्थानिय विकास अधिकारीको जिम्मेवारी सम्हालियो । जि.वि.स.का सबै कर्मचारी साथीहरुसँग परिचय गरी जिल्ला विकास समितिमा गर्नुपर्ने काम र कर्तव्यका बारेमा जिल्लाको बस्तुस्थितिका बारेमा जानकारी लिई कर्मचारी साथीहरुलाई जिल्लाबासी नागरिकहरुको लागि निष्पक्ष र इमान्दारीपूर्वक कार्य गर्न निर्देशन गरियो ।
कार्य गर्ने सोच र शैली
तत्पश्चात नियमित रुपमा जिल्ला विकास समितिको कार्यालयको काममा ध्यान दिदै स्थानीय राजनैतिक पार्टी प्रतिनिधिसँग भेटघाट गरी जिल्लाको विकास र निर्माणको बारेमा सकारात्मक सोचका साथ छलफल अगाडी बढाउँदै समन्वात्मक र सहयोगात्मक रुपमा कार्य गर्नका लागि तदनुकुल वातावरणको लागि अनुरोध गर्दै गएँ । तर जुनवेला जिल्लामा हाजिर हुन गएको थिएँ, त्यतिखेर राजाको प्रत्यक्ष शासन भएकाले जिल्ला विकास समितिमा तत्कालिन सरकारले नियुक्त गरेका जि.वि.स.का सभापति र उपसभापति लगायत बोर्ड सदस्यहरु भएकोले राजनैतिक पार्टीका साथीहरुले हामी जि.वि.स.मा आउदैनौं तर तपाईको रचनात्मक कार्यमा सहयोग गर्दछौ भन्ने सकारात्मक जवाफ दिएका थिए । मैले त्यही अनुरुप आफ्नो भूमिका निर्वाह गर्दै सरकारबाट मनोनित पदाधिकारीहरु र बाहिर रहेका राजनैतिक पार्टी प्रतिनिधिहरुसँग सन्तुलित व्यवहार गर्दै जि.वि.स.को कार्यक्रमलाई कार्यान्वयनको क्रममा अगाडी बढाउँदै लगें । तत्पश्चात जिल्लामा कार्यरत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरु लगायत नेपाल सरकारका विभिन्न निकायहरुसँग समन्वय राख्दै केहि विकाससँग सम्बन्धित कार्यालयहरु शिक्षा, स्वास्थ्य, महिला विकास, कृषि, पशुसेवा, वन, भू–संरक्षण  लगायतका कार्यक्रमहरुमा चासो राख्दै उनीहरुलाई जनभावना अनुसार काम गर्न अभिप्रेरित गर्ने कार्य गर्दै गएँ । जिल्लामा विकाससँग सम्बन्धित कार्यालय प्रमुखहरुसँग घनिष्ट सम्बन्ध राखि जिल्ला विकास परिषद् मार्फत उनीहरुको कार्यक्रम पास गराउँदै सो को कार्यान्वयन र अनुगमनको लागि समन्वयकारी भुमिका खेलें ।
माओवादी द्वन्द्वबाट अति प्रभावित बाजुरामा विकास निर्माणका कार्यक्रममा बिभिन्न ग्रामिण भेगमा जाँदा जिल्लाका पनि दूर–दराजमा रहेका ग्रामिणबस्तिका नागरिकहरु हर्ष–विभोर हुन्थे । उनीहरु अन्तरआत्माले नै स्वागत गर्न आतुर देखिन्थे । जुन गाउँमा जान्थे, त्यहाँको विकास निर्माणका आवश्यकता पुरा गर्न बचन दिएर आउँथे । त्यस वचनलाई खेर जान नदिएर पछि इलाका स्तरका योजना तर्जुमा देखि जिल्ला परिषद्को बैठक समक्ष छलफल गराएर जनताका अति आवश्यक योजनालाई प्राथामिकताका साथ कार्यक्रममा राखिदिन्थें । सो अनुसारको बजेटको व्यवस्था गरिदिँदा दूर–दराजका जनताहरु झन् हर्ष–विभोर हुन्थे ।
जिल्लामा रहँदा फिल्डमा हिँड्न अति मन पराउथें । माओवादी द्वन्द्वको कारण सुरक्षाको थ्रेट छ भन्थे तर माओवादीहरु पनि साँच्चिकै इमान्दार र कर्तव्यनिष्ठ कर्मचारीहरुलाई फिल्डमा दुःख दिदैनथे । त्यसमा पनि मलाई त माओवादी कार्यकर्ताहरुले ग्रामिण भेगमा अति माया गर्थे । उनीहरु नै विकासका कार्य गर्न, नयाँ कार्यक्रम ल्याउन अभिप्रेरित गर्दथे । त्यतिखेर माओवादी कार्यकर्ताहरुले प्रत्येक कर्मचारीसँग महिनावारी लेभी उठाउँछन् भन्ने गर्दथे तर मैले कहिल्यै चन्दा दिनु परेन । बरु ८÷१० घण्टासम्म उनीहरुसँग विकासका कार्यक्रमका बारेमा छलफल, बहस र अन्र्तक्रिया हुन्थ्यो । अन्तमा उनीहरु विकासका बारेमा सकारात्मक सोच लिएर विदा हुन्थे । यस्तै प्रकारले नेपाली कांग्रेस, नेकपा एमालेलगायत अन्य राजनैतिक दलका प्रतिनिधिसँग पनि सौहाद्र्धपुर्ण व्यवहार भयो । सबैले सहयोग नै गरे किनकी विशेषगरि जिल्लामा नेकपा एमालेका कर्ण थापा, प्रकाश बहादुर शाह, एमाओवादीका सहदेव बोगटी, मनलाल डुडाल र नेपाली कांग्रेसका देवराज जोशी, जनकराज गिरी, मानबहादुर रावलजस्ता सुझबूझ भएका  नेताहरुको कमि थिएन ।
२०६२÷०६३ सालको आन्दोलनपश्चात् जिल्लामा काम गर्ने  वातावरण बदलियो । तत्कालिन सरकारले नियुक्ति गरेका जि.वि.स बोर्ड पदाधिकारी हटेपछि दलिय संयन्त्र निर्माण भयो । दलिय संयन्त्रलाई पनि साथमा लिएर समन्वयात्मक रुपमा मैले स्थानीय विकास अधिकारीको हैसियतले कार्य गरें । सबैको सहयोग र सद्भाव पाएँ । त्यस जिल्लामा २ पटक जिल्ला परिषद् गर्ने मौका पाएँ । दोस्रो पटकको जिल्ला परिषद् तीन दिन लगाएर जि.वि.स.को प्रांगणमा खुल्ला र पारदर्शी ढंगले गरिदिएँ । सबै राजनैतिक पार्टीका प्रतिनिधि देखि सर्वसाधारण जनतासम्म दंग भए । खुल्ला दिलले जिल्लाको विकास निर्माणका कार्यक्रममा अधिक भन्दा अधिक रुपमा सहभागितामूलक ढंगले छलफल गराई जिल्ला विकास योजना तर्जुमा गरिदिएँ ।  कसैलाई काखा, कसैलाई पाखा नगरी समभावको दृष्टीले विकास कार्यक्रम अघि बढाएकोले बजुरेली जनताले अझैसम्म सम्झीरहेका छन् । त्यसको सुखद अनुभूति गर्ने मौका पाएको छु ।
प्राकृतिक स्रोत र साधनका दृष्टीले धनी, पर्यटन विकासको यथेष्ठ सम्भावना भएर पनि बाजुरा जिल्ला विकट उच्चपहाडी जिल्ला भएको र शिक्षा, स्वास्थ्य, सञ्चार लगायतको क्षेत्रको असुबिधा र  मानव सुचकांकको हिसाबले पनि पछि भएकोले  जिल्लाको स्थानिय विकास अधिकारीको नाताले जिल्ला विकास योजनाको अतिरिक्त केन्द्रबाट थप कार्यक्रम तथा बजेट लग्न मैले अथक प्रयास गरें । जिल्लाबाट सबै राजनैतिक पार्टी प्रतिनिधि एवं नागरिक समाजका अगुवा प्रतिनिधिहरुलाई सम्मिलित गराई त्यसको नेतृत्व गर्दै तत्कालिन सरकारका विभिन्न मन्त्रीहरुसँग भेट गराई जिल्लाको बस्तुस्थितिबारे अवगत गराई जनसहभागिता कार्यक्रम अन्तर्गत थप १ करोड १५ लाख रुपियाँ निकासा लागि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा कार्यक्रम निर्माण गरी कार्यान्वयन गरें । त्यसबाट स्थानीय राजनैतिक दलका नेता एवं सर्वसाधरण अति नै खुसी भएको मैले महसुस गरें ।
बाजुरा जिल्लाको भौतिक पूर्वाधार निर्माण कार्यको लागि अछाम–मार्तडी–कोल्टी सडक निर्माणमा प्राथमिकता दिदै तदनुकुल कार्यक्रम तर्जुमा र कार्यान्वयनमा जोड दिएको थिएँ । साथै बाजुरा जिल्लाको बजेट निकासा खर्च प्रणाली र खर्चको ट्रेन्ड आदी विषयमा केन्द्रमा अबगत गराई बाजुराको बजेट आर्थिक बर्षको अन्त्यमा बजेट फ्रिज गन नदिने सम्बन्धमा आवश्यक पहल गरें । पछि केन्द्रबाट कुरा सुनुवाई भई बजेट असार मसान्तमा फ्रिज नभइ अर्को आर्थिक बर्षको असोज मसान्तसम्म काम गर्न पाइने नितिगत व्यवस्था पनि  भयो । समग्रमा, करिब २ बर्ष बाजुरामा काम गर्दा सन्तुष्टी नै मिलेको थियो । त्यसैको प्रतिफलस्वरुप अझै म पछि बाजुरा पुग्ने स्थानीय विकास अधिकारी, कर्मचारी र राजनैतिक पार्टीका स्थानीय नेता, कार्यकर्ता र आम बजुरेलीबासीले अझैसम्म प्रशंसा गरेको सुन्दा झन आनन्द लाग्दछ ।
 खट्केका विषयहरु
यति हुँदाहुदै पनि बाजुरामा बस्दा खट्केका कुराहरुलाई म यहाँ स्पष्ट नगरी रहन सक्दिनँ । म काठमाण्डौको बासिन्दा, मन्त्रालयको आमन्त्रण एवं जि.वि.स.को अन्य कुनै काम विशेषले काठमाण्डौ आउँदा जिल्ला पुग्न केहि समय ढिलो हुन्थ्यो । त्यस विषयलाई स्थानीय पित पत्रकारीताको माध्यमबाट नकारात्मक टिप्पणी गरिदिई जनमानसमा नकारात्मक सन्देश प्रचार यदाकदा हुने गर्दथ्यो । तर त्यसलाई चिर्दै जनसेवामा तल्लीन भएर लाग्दथें । बाजुरा जिल्लामा गरिबी निवारण कोषको कार्यक्रम समेत भएकोले त्यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि अनुगमन, मूल्यांकनको लागि मैले एउटा अयलअभउत उबउभच तयार गरी जि.वि.स.मार्फत अनुगमन, मूल्यांकन गर्न प¥यो भनि जिल्लाका गरिबी निवारण कोष सम्बद्ध उपभोक्ता समितिका पदाधिकारी गैरसरकारी संस्थाका प्रतिनिधि लगायत गरिबी निवारण कोषका केन्द्रका पदाधिकारीहरुसँग समेत छलफल गर्दा त्यस विषयलाई नकारात्मक ढंगले सोची जिल्लामा गैरसरकारी संस्थामार्फत मेरो कार्य शैलीको विरोध गरियो । यो प्रयासको थालनी गैरसरकारी संस्थाको कार्यको प्रत्यक्ष नियन्त्रण र निगरानी गरी गरिबी निवारण कोषबाट आएको रकम प्रत्यक्ष गरिब जनताको हितमा प्रयोग गर्ने मनसाय थियो । त्यही अवधिमा मेरो सरुवा भएकोले सो कार्य अपूर्ण रहन गयो  । २१ महिना बस्दा पनि बडिमालिका माताको दर्शन गर्ने सौभाग्य मिलेन । किनकी त्यस ठाउँमा जान श्रावण र भाद्र महिना उपयुक्त हुने तर त्यस बखत केन्द्रमा बार्षिक समिक्षा गोष्ठी सेमिनार भइरने कारणले सो मौकाबाट बन्चित भइयो । चैत बैशाखको समयमा जान कार्य व्यस्तताले भ्याइएन । जे होस् बडीमालिका माताको दर्शन गर्ने इच्छा एक दिन पुरा हुने अपेक्षा समेत लिएको छु ।
सुझावहरु
मेरो विचारमा बाजुराको समग्र विकासको लागि निम्न कार्य गर्न अतिआवश्यक देखेको छु ।
सकारात्मक सोच राखि समग्र बजुरेली जनताहरु राजनैतिक पूर्वाग्रह नराखि विकास र निर्माण कार्यमा एकजुट हुन आवश्यक छ ।
यातायात र पर्यटन पुर्वाधारलाई जोड दिई विकास निर्माणका कार्य अगाडी बढाउनु पर्दछ ।
जिल्लामा खेर गएको जलस्रोतको उपयोगमा विशेष ध्यान दिनुपर्दछ ।
बाजुरामा ८२ प्रजातीका जडिबुटी पाइने भएकोले तिनको संरक्षण र संवद्र्धन गरी राम्रो बजारीकरण माध्यमबाट जनताको आर्थिकस्तर बृदि गर्नु आवश्यक छ  ।
खाध्य संकट निवारणको लागि खाने संस्कार  परिवर्तन गर्नु जरुरी छ । मदीराजन्य प्रयोगमा खाद्यान्नको प्रयोग गर्ने बानी हटाउनु अति आवश्यक छ ।
पशुपालन र कृषि पेशामा विशिष्टीकरण एवं व्यवसायीकरण गर्नुपर्दछ ।
शिक्षा, स्वास्थ्यमा विशेष जोडदिई जनचेतना वृद्धी गर्नु अति आवश्यक छ ।
आयआर्जन हुने कार्यमा बजुरेली जनताको पहुँच पु¥याउन विशेष प्राविधिक शिक्षा  र तालिमको व्यवस्था गरिनुपर्दछ ।
महिला सशक्तिकरणमा जोड दिनु आवश्यक छ ।
कुलत र कुभावनालाई त्याग गरी असल काम र राम्रो काम गर्ने मानिसको कदर गर्न सिक्नुपर्दछ  ।
अन्यमा, बडिमालिका माईको आराधाना गरी सम्पूर्ण बजुरेली जनताहरु बाजुराको हितमा लाग्नु पर्दछ  ।