जलवायु परिवर्तन र महिला

– गोपीनाथ मैनाली
सबैले बुझ्ने भाषामा भन्दा अविवेकपूर्ण रुपमा हुने मानवीय क्रियाकलापका कारण हरित गृह प्रणालीमा असर परी वायुमण्डलको तापमानमा क्रमिक वृद्धि हुनु जलवायु परिवर्तन हो । यो अस्वाभाविक भएमा यस प्रकारको परिवर्तनले विकास, मानवीय आवश्यकता र जैविक विविधता एवम् पारिस्थितिक प्रणालीमा असन्तुलन ल्याउने हुनाले जलवायु परिवर्तनको विषयले विश्वव्यापी चिन्ता बढाएको छ । सन् १९९२ मा सम्पन्न रियो सम्मेलनबाट पारित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका महासन्धिले विश्वमा बढ्दो तापमानका सम्बन्धमा विश्व समुदायलाई सचेत गराएपछि यसलाई कसरी नियन्त्रण गर्न र यसबाट सिर्जित समस्याबाट अनुकूलित हुनसकिन्छ भन्ने विषयले सबै तहमा महत्व पाएको हो ।
जलवायु परिवर्तनका असर जीवन प्रणालीका सबै क्षेत्रमा पर्ने यस कारण स्पष्ट छ कि यसले पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दछ । यस सम्बन्धमा भएका सीमित अध्ययनले बताएअनुसार वायुमण्डलको तापमानमा वृद्धि, वर्षा र मनसुनी प्रवृत्ति परिवर्तन, पानीको स्रोत सुक्दै जानु, सुख्खा र बाढी पहिरो, विभिन्न प्राणीहरुको बसाइसराइ र विनाश, जैविक विविधतालाई खतरा, खेतीपाती, उत्पादन प्रणाली र आनीबानी एवम् सम्बन्धमा परिवर्तन जस्ता असरहरु पर्दछ । जलवायु परिवर्तनका असरहरु सर्वव्यापी हुन्छन् । यसबाट पर्ने जीवनचक्र प्रणाली र जीवन सहयोग प्रणालीमाथि असर यो वा त्यो मुलुक अछूतो रहन सक्तैन । फरक यत्ति हो कि त्यसको पहिलो तहको असर भने कुनै मुलुकले बढी र कुनैले अलि कम व्यहोर्नुपर्ने हुनसक्छ । साथै विकासको स्तरले पनि प्रभाव अनुकूलन क्षमतामा तलमाथि पार्नसक्छ । नेपालका सन्दर्भमा भन्दा केही कुराहरु सोचनीय छन् जसका कारण हामी जलवायु परिवर्तनका सवाललाई तत्काल सम्बोधन गर्नुपर्ने अवस्थामा छौँ ।

नेपालको भू–धरातलीय संरचना कमजोर प्रकृतिको छ । यसकारण प्रकोप तथा विपत्तिको असरवहन क्षमता न्यून देखिन्छ । बढ्दो जनसंख्या, अव्यवस्थित खेती तथा वस्ती प्रणालीले जोखिमलाई झनै बढाउँदै लगेको छ । विश्व तापमान वृद्धिले वर्षाको याम, मात्रा र स्वभावलाई परिवर्तन गर्दै लगेको छ । मनसुन प्रक्रियाको अनिश्चयले कृषि उत्पादनलाई सिधै चुनौती दिएको छ । परम्परागत खेती प्रणाली अबका धेरै दिनमा उही रुपमा रहन नसक्ने भएका छन् । यसले बढ्दो जनसंख्याको खाद्य सुरक्षालाई पनि हाँक दिएको छ । गर्मी हुने दिनहरुको संख्यामा वृद्धि, तातो हावा बहने घटनाक्रममा वृद्धि,, तापान्तरको असमान्य प्रवृत्ति, हिउँ र तुसारो पर्ने दिनको संख्यामा कमी, अधिकांश क्षेत्रमा तीव्र वर्षाका घटनामा वृद्धि, शीतोष्ण क्षेत्रमा सुख्खा तथा खडेरी तथा नयाँ प्रकृतिका संक्रामक रोगहरुको विस्तार भएको छ । साथै जनजीवनमा पानीको तनाव पर्न थालेको छ ।

हिमनदीहरु सुुक्न थालेका छन्, जसका कारण नेपालका करिब ६ हजार साना–ठूला हिमनदीहरुको पानीको आयतन केही समयका लागि बढ्ने र त्यसपछि घट्ने संभावना छ । यसबाट नेपालको जीवन प्रणाली मात्र प्रभावित छैन, हिन्दकुश क्षेत्रका सबै मुलुकहरुको पानी भण्डार पनि हाम्रा हिमश्रृङ्खला भएकाले समस्त हिन्दकुश क्षेत्र नै प्रभावित हुँदै छ । यसबाट सतह सिँचाइ प्रणाली त प्रभावित भइहाल्छ, यसका अतिरिक्त ऊर्जा प्रणाली पनि सुरक्षित रहनेछैन । जलाधार क्षेत्र प्रभावित हँुदैछ । भूसतहको पानी भण्डार रित्तिँदै जाने र त्यसमा पानीभरण कम हुँदै गएकोले केही दशकपछि खानेपानी जस्तो आधारभूत जीवन प्रणालीले समेत जोखिम वहन गर्नुपर्ने स्थिति आउने संभावना छ ।

जलवायु परिवर्तनका असर सवै वर्ग र क्षेत्रमा प्रभाव पार्ने घटनाक्रम हो । यो एउटा प्रकोप र यसले स्वाभाविक स्थितिलाई विचलनमा ल्याउने खतरा ल्याएको छ । तर कुनै पनि विपत्तिको असर त्यसलाई नै बढी पर्दछ जसमा सहन क्षमता कम हुन्छ र जोखिम वहनको भार बढी पर्दछ । यस दृष्टिकोणबाट हेर्दा महिलाहरु पुरुषका तुलनामा बढी नै जोखिम वहनमा रहेका छन् । महिलाहरुको दिनचर्या प्राकृतिक स्रोतसँग गासिएको छ । वन विनाश, जलाधार संरक्षण, पानी आपूर्ति, ऊर्जा उपलब्धता जस्ता विषयमा पुरुषका तुलनामा महिलाहरुको स्वाभाविक संवेदनशीलता बढी हुने गर्दछ । पुरुषका तुलनामा अवसर अभ्यासमा महिलाहरु पछि पर्नाले पनि जलवायु परिवर्तनका जोखिमहरु महिलाकेन्द्रित हुँदै आएका छन् ।

पहिलो असर बसाइसराइसँग सम्बन्धित छ । जलवायु परिवर्तनका असरका कारण मानिसहरु सोसँग अनुकूलित हुने उपायको खोजीमा रहन्छन् । बसाइसराइ त्यसको एक तरिका हो । दुई वर्षअघि गरिएको एक अध्ययनअनुसार पाँचथर, गुल्मी, काभ्रे, रामेछाप र महोत्तरीमा पानीका मूलहरु सुक्न गई पचासौँ परिवार पानीको स्रोत भएका स्थानमा बसाइ सरेको पाइयो । पाँचथरको याशोकका बासिन्दाहरु एकै वर्ष ७६ परिवार झापातर्फ सरेका थिए । बसाइसराइपछि नयाँ स्थानमा अनुकूलित हुने पीडा पुरुषमा भन्दा महिलाहरुमा बढी छ । त्यस्तै जलवायु परिवर्तनको प्रमुख असरमध्ये सुख्खा पनि एक हो । सुख्खा बढ्नु आफैँमा जोखिम हुँदै हो, महिला यसबाट बढी नै प्रभावित हुन्छन् । सुख्खाले ल्याउने प्रकोपले उद्धार र विशेष आवश्यकता माग गर्दछ ।
सुख्खाका कारण सागपात उत्पादनमा ह्रास आउँछ भने घरभित्रको ऊर्जा जोहोको समस्या पनि उनीहरुमा पर्ने गरेको छ । अर्को असरका रुपमा आयआर्जन र जीवन निर्वाह प्रणालीमा देखिएको छ । सुख्खा, बाढी पहिरोलगायतका असरहरुका कारण हिमाली क्षेत्रका महिला पशु चरिचरण समस्यातर्फ धकेलिँदै छन् । अन्य क्षेत्रमा पनि परम्परागत पेशा र उत्पादन प्रणालीमाथि असर परेको छ । महिलामाथि जलवायु परिवर्तनको विश्वव्यापी रुपमा परेको प्रभावमध्ये सबैभन्दा देखिने प्रभाव पानीको तनाव हो । भू–धरातलीय स्वरुपका कारण जलवायु परिवर्तनका दृष्टिमा विश्वको चौंथो जोखिमयुक्त मुलुक नेपालमा पानीको अभाव बढ्दै जाँदा पानी संकलनका लागि अत्यधिक समय खर्चिनुपर्ने, जसले अन्य क्रियाकलापमा समय विनियोजन गर्न बाधा पुग्ने, स्वास्थ्य तथा सरसफाइमा पहुँच कम हुने, छिटो विवाह तथा पारिवारिक बन्धनमा पर्नुपर्ने बाध्यता एवम् पोषण तथा स्वास्थ्य समस्यामा वृद्धि देखिएको छ । साथै पढाइ तथा विद्यालय छाड्ने प्रवृत्ति बढाएको छ भने जलवायु परिवर्तनका कारण पारिस्थितिक प्रणालीमाथि प्रभाव पारेकाले त्यसको प्रत्यक्ष असर दैनिकीमा पर्न गई सापेक्षिक रुपमा महिलाहरुमा कार्यबोझ बढ्न गएको छ ।

जलवायु परिवर्तनका प्रतिकूल असरबाट एक स्थानबट अर्को स्थानमा मानिसहरु बसाइ सर्दा आधारभूत आवश्यकता पूर्ति गर्ने र सामाजिकीकरणका प्रक्रियामा तनाव, झैझगडा हुने र त्यसको अधिक भार महिलामा पर्दै आएको छ । हिमाली भेकमा तुलनात्मक रुपमा जलवायु जोखिम बढी देखिन्छन् । त्यसैले त्यहाँका महिलामा जलवायु परिवर्तनको असर अन्यत्रका तुलनामा बढी छ । यसको उदाहरण शिक्षा, स्वास्थ्य, आयु, इन्धनको जोहो र खाद्य उत्पादन प्रणालीमा देखिएको छ ।

नेपालको सन्दर्भमा जलवायु परिवर्तनको सवाल नौलो हो । त्यसैले यसलाई सम्बोधन गर्ने विधि र प्रविधिको पनि त्यति विकास भइसकेको छैन । न त यससम्बन्धी असरको विस्तृत अध्ययन नै भएको छ । विकासका आयाममा यसलाई सम्बोधन गर्ने सोच भने १२औँ त्रिवर्षीय योजनादेखि भयो । १२औँ योजना तयारीका क्रमदेखि यसलाई गहन रुपमा लिन थालिएको हो । अहिले पनि जलवायु परिवर्तनको सवाललाई सम्बोधन गर्ने संस्थागत क्षमता र नीति संरचनाहरु तयार भइसकेका छैनन् । साथै योजना र क्रियाकलापलाई जलवायुमैत्री बनाउन आवश्यक सूचना आधार तयार भइसकेको छैन । क्रियाकलाप सञ्चालनका लागि निकायहरुको समन्वय र साधन परिचालनको क्षमता कमजोर नै छ ।

जलवायु परिवर्तनमैत्री योजनाका लागि सबै तहमा सचेतना र नागरिक शिक्षा वृद्धि, वातावरणको सहजीकरण, योजनारक्रियाकलाप छनौटका आधारको स्थापना र अवलम्बन, प्राविधिक सीप तथा क्षमताको विकासका कार्य गर्न बाँकी नै छन् । महिलाहरुलाई यसबाट पर्ने प्रभावको मूल्याङ्कन गर्ने र त्यसका आधारमा नीति कार्यक्रम तर्जुमा एवम् कार्यान्वयन गर्ने कार्य अझै बाँकी छ । जलवायु परिवर्तनको असर न्यून गर्ने स्थानीय प्रविधिका धनी दुर्गम तथा हिमाली क्षेत्रका महिलाहरुमा सचेतना, क्षमता विकासका साथसाथै अनुकूलनका लागि समेत नीति कार्यक्रम लैजानु आवश्यक छ ।