पर्यटक सुरक्षामा भरोसाको केन्द्र बन्ने छु : खतिवडा

 तुलसा खतिवडा, पर्यटक प्रहरी प्रमुख –भृकुटीमण्डप

नेपालको पर्यटन क्षेत्रले क्रमशः गति लिँदैछ । यद्यपि, पूर्वाधार निर्माण र पर्यटकले प्राप्त गर्ने सेवासुविधा तथा आन्तरिक सुरक्षा आशातित रुपमा हुन सकेको छैन । विशेषगरी नेपाल आउने विदेशी पर्यटकले नेपाल भ्रमणका क्रममा सहनुपर्ने हकरहरुको अनावश्यक दबाब र पछिल्लो समय पर्यटक गाइडको दक्षता तथा पर्यटक असुरक्षाका कारण नेपाल भ्रमणमा आउने पर्यटकमा नकारात्मक प्रभाव बढ्न गएको  छ ।
पर्यटकहरुको सुरक्षामा केन्द्रित गरी राज्यले पर्यटक प्रहरीको समेत व्यवस्था गरेको भएपनि यसले प्रभावकारीरुपमा सुरक्षाको अनुभूति दिन सकेको छैन । पर्यटकले भोग्दै आएका हकर, नक्कली गाइड र आन्तरिक सुरक्षाको स्थितिको बारेमा पर्यटक प्रहरीको पहलबारे पर्यटक प्रहरी प्रमुख तुलसा खतिवडासँग बुझ्ने कोसिस गरेका छौँ ।

प्रहरी सेवामा १० वर्ष सेवा गरिसक्नुभएकी खतिवडा सात महिनादेखि पर्यटक प्रहरी भृकुटीमण्डप प्रमुखको रुपमा रहनुभएको छ । उहाँले सो जिम्मेवारी बहन गर्नुभएपछि पर्यटन क्षेत्रमा केही सुधारका सङ्केतहरु देखिन थालेका पनि छन् । प्रस्तुत छ, पर्यटकले भोग्नुपरेका समस्या र त्यसमा पर्यटक प्रहरीको भूमिकाको विषयमा पर्यटक प्रहरी प्रमुख तुलसा खतिवडासँग गरिएको अन्र्तवार्ताको सम्पादित अंश ।

पर्यटक प्रहरीले अहिले के गरिरहेको छ ?
पर्यटक प्रहरी पर्यटक सुरक्षाको लागि स्थापना भएको हुँदा त्यसैमा हामी केन्द्रित छौँ । सुरुमा सात जनाबाट सुरु भएको पर्यटक प्रहरी युनिट अहिले सङ्ख्यात्मक र प्राविधिक तबरले पनि सक्षम बन्दै गएको छ । पर्यटकमाथि आइपर्ने कुनैपनि किसिमका अप्ठेराहरुलाई समाधान गर्न हामी २४सै घण्टा लागिपरेका छौँ । यसबीचमा उपत्यकामा २४सै घण्टा मोवाइल सेवासहितको गस्ती चेकजाँच कार्य र सूचना प्राप्त भएसम्म जुनसुकै क्षेत्रमा पर्यटकलाई परेका समस्यामा साथ दिएका छौँ । यस्तै उपत्यका बाहिर पनि विभिन्न स्थानमा युनिटहरु खडा गरी उनीहरुलाई जिल्ला प्रहरीसँग समन्वय गरी पर्यटकका समस्या समाधानमा केन्द्रित हुन सुझाइएको छ । अर्कोतर्फ नक्कली गाइडहरुलाई निस्तेज पार्न विशेष अभियान सञ्चालन गरेका छौँ । त्यस्तै विदेशी पर्यटकलाई हकरहरुले दुःख दिने समस्यालाई पनि धेरै हदसम्म नियन्त्रण गरिएको छ ।

तर यहीबीचमा ट्रेकिङमा अबैधानिक रुपमा नक्कली गाइड र आन्तरिक सुरक्षाको स्थिति अझैसम्म आशातित बन्न सकेको छैन, समस्या कहाँनेर छ ?
हेर्नुस, यस विषयमा समस्या नभएका होइनन्, यी सबै कुरा क्रमशः कम हुँदै जानुपर्छ  र कम भएको छ, भन्ने मेरो बुझाइ हो । सुरुका दिनमा सीमित संख्यामा रहेका पर्यटक प्रहरी युनिटहरु आजको दिनमा विस्तारित र प्राविधिकरुपमा पनि सबल हुँदै गएका छन् । यस्तोमा हामीले सूचना पाएसम्म र अनुगमनमा भेटेसम्म कहीँकतै पर्यटकमाथि दुःख दिने काम भएको छ भने हामी सक्रिय भएर लागिपरेकै छौँ ।
अर्कोतर्फ केही समय अगाडि मात्र नक्कली गाइडको सम्बन्धमा ट्रेकिङ एसोसिएसनबाट समन्वयका लागि अनुरोध भएकामा उपत्यकाका विभिन्न क्षेत्रबाट नक्कली गाइडलाई पक्राउ गरी चेतावनीस्वरुप सम्पूर्ण विवरणका साथ छोडिएको छ । यसरी जुनसुकै स्थानमा पर्यटकको सुरक्षामा हामी सवेदनशील छौँ ।

विशेषगरी हकर समस्या विकराल छ, एयरपोर्टमा आगमनदेखि सुरु हुने समस्या पर्यटक फिर्ता हुने अवस्थासम्म दर्जनौँपटक बेहोर्न पर्यटक बाध्य हुन्छ, केही समयअघि पर्यटनमन्त्रीकै अनुभव पनि सार्वजनिक भैसकेको छ, यसमा यहाँहरुको ध्यान किन गएको छैन त ?
हेर्नुस्, यसमा राज्यसंयन्त्रको नीतिको कुरा पनि आउला । यहाँले भनेजस्तै विगत लामो समयदेखि यी कुराहरु समस्याका रुपमा रहेका छन् भने समाधानको पहल पनि यसअघि भएकै हुनुपर्छ । यद्यपि ती प्रयास आशातीत बन्न नसकेको सत्य हो । तर हाम्रो प्रयास यी सबै समस्याको निराकरण कसरी गर्न सकिन्छ भन्ने रहेको छ । यसमा साधन स्रोतका कुरा पनि सँगै जोडिएर आउँछन् । एयरपोर्ट क्षेत्रमै पनि पर्यटक प्रहरी युनिट छ । प्रत्येक पर्यटकको पछि लागेर हिंड्न सम्भव नहुन सक्छ, यस्तोमा प्राप्त सूचना र हाम्रो प्रयासलाई मजबुत बनाउँदै पर्यटकको यात्रा सहज बनाउन लागिपरिरहेका छौँ ।

तपाइँले यसो भनिरहँदा पर्यटन क्षेत्र अझै सुरक्षित छ भन्नसक्ने अवस्था छैन । चोरी, डकैतीदेखि ट्राभल एजेन्सीका नाममा होटल चलाउने, अमर्यादित क्रियाकलाप सञ्चालन भैरहेको छ, यहाँहरुको अनुगमनले काम नगरेको हो ?
हेर्नुस्, मैले यसअघि पनि भने, समस्या नभएका होइनन, तर हाम्रो एकल प्रयासले मात्र सबै कुरा ठीक ठाउँमा आइपुग्ने भन्ने नहोला । यसमा कहीँ न कहीँ सरकारको प्राथमिकताका कुरा पनि जोडिन आउँछन् जस्तो लाग्छ । आशा गरांै सबै कुरा आगामी दिनमा समाधानको दिशामा जानेछन् । यसबीचमा हाम्रो प्रयास पनि जारी नै रहनेछ ।

पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन यहाँहरुको भावी कार्यक्रम के छ ?
पर्यटन सुरक्षामै हामी केन्द्रित भएका छाँै । उपत्यका र उपत्यका बाहिर पूर्वी र सुदूरपश्चिम क्षेत्रमा ३÷४ वटा क्षेत्रमा पर्यटक प्रहरी युनिटको माग भैरहेको छ । यस्तोमा ती क्षेत्रहरुको अध्ययन गरेर आवश्यता पहिचान गरी प्रहरी स्याटेलाइट युनिट स्थापना गर्ने कार्यमा जोड दिएका छौं । यस्तै उपत्यकामा जस्तै पोखरा, लुम्बिनीमा पनि मोवाइल सेवासहितको युनिट खडा गरी २४सै घण्टा सेवा प्रदान गर्ने कार्यमा समेत लागिपरेका छौं । समग्रमा पर्यटकीय स्थल र पर्यटकको सुरक्षामा हाम्रो जोड रहेको छ ।

तपाई पर्यटक प्रहरी प्रमुखको रुपमा आएपछि सुधारका लागि के गर्नुभयो ?
म पर्यटक प्रहरी प्रमुखको रुपमा आएको सात महिना भयो । यसबीचमा मैलै उत्पात गरे भन्ने लाग्दैन । यद्यपि प्रमुखको रुपमा आएकै दिनबाट केही नयाँ गर्ने कोसिस गरेको छु । जस्तो पर्यटक प्रहरी सेवालाई २४सै घण्टा बनाउने, सुरुवाती दिनमा सीमित उपकरण र सवारीका कारण कार्यसम्पादनमा असहज भैरहेकोमा पर्यटन मन्त्रीसँग समन्वय गरी मोवाइल सेवालाई चुस्त बनाउन आवश्यक सवारी खरिदका लागि बजेट विनियोजन भैसकेको छ । यस्तै नगरकोटमा पर्यटक प्रहरी युनिटको राख्ने कार्य र पोखरा, लुम्बिनीमा २४ घण्टा मोवाइल सेवासहितको पर्यटक प्रहरी सेवा उपलब्ध गराउने कार्य मेरै पहलकदमीबाट भएको हो । यस्तै बर्दिया, मानसरोवर र धुलिखेलमा पनि पर्यटक प्रहरीको स्याटेलाइट राख्ने सम्बन्धमा पनि निर्णय भएको छ । जुन मेरै पहलमा अगाडि बढिरहेको स्थिति हो । पर्यटक सुरक्षामा भरोसाको केन्द्र बन्ने कोसिस गरेको छु ।