मुगुमा उम्मेदवार टुंग्यायो माओवादीले

मुगु । नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० गते हुन गैरहेको प्रदेश तथा संघको निर्वाचनका लागि मुगु जिल्लाबाट उम्मेदवारहरु टुङ्गो लगाएको छ ।

 

नेकपा माओवादी केन्द्र जिल्ला कमिटी मुगुको गत २५ गतेबाट जिल्ला सदरमुकाम गमगढीमा बसेको बैठकले प्रदेश तथा संघका उम्मेदवारहरुको टुङ्गो लगाएको हो । उम्मेदवार टुङ्गो लगाउन माओबादी केन्द्रका ६ नम्बर प्रदेश इन्चार्ज शक्ति बहादुर बस्नेतलाई मुगु आएका थिए । ३ दिनसम्मको छलफलमा पाटीमा गरेको योगदान,जनप्रियता र चुनाव जित्न सक्ने उम्मेदवारहरुको एकिन गरि टुङ्गो लगाईएको बताईएको छ ।

 

नेकपा माओवादी केन्द्रका अनुसार प्रत्यक्ष तर्फ संघमा मंगल बहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने प्रदेशमा क्षेत्र नं १ मा केबल बहादुर मल्ल र क्षेत्र नं २ बाट राजु कार्कीलाई उम्मेदवार बनाएको र समानुपातिक तर्फ संघमा अज बहादुर शाही र प्रदेशमा लालचन्द्र विक र बाँचु धामीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाएको हो । उम्मेदवारहरुको टुङ्गो लागिसकेकाले अब गाँउ बस्ति तिर लाग्ने नेकपा माओवादी केन्द्र, मुगुले जनाएको छ ।

 

जिल्लामा मुख्य प्रतिस्पर्धामा रहेका काँग्रेस, एमाले र माओवादी मध्ये माओवादीले सबैभन्दा पहिला आफ्ना उम्मेदवारको टुंगो लगाएको छ भने एमालेले छलफल चलाई रहेको छ । एमाले स्रोतका अनुसार ३, ४ दिन भित्रमा उम्मेदवारहरुको टुंगो लागिसक्नेछ । उता कांग्रेसले उम्मेदवार छनौटको सुरुसार अझै शुरु गरेको छैन ।

 

कांग्रेस मुगुका सभापति खड्क बहादुर शाही अन्य पार्टिका उम्मेदवारको एकिन भएपछि बल्ल आफुहरुले उम्मेदवार टुंगो लगाउने बताएका छन् । कांग्रेसले प्रारम्भिक छलफलका लागी गाँउ कार्य समिति सभापति, स्थानिय तहमा निर्वाचित प्रतिनिधी र पराजित उम्मेदवार, भातृ तथा शुभेच्छुक संघ संगठनका प्रमुखहरुलाई आगामी आश्विन ४ गते सदरमुकाममा बोलाएको र त्यस पछी उम्मेदारको टुङ्गगो लगाउने सभापति शाहीको भनाई छ ।