ढुंगेललाई जेल हाल्नेहरू प्रतिक्रान्तिकारीः विप्लव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माओवादी केन्द्र नेता तथा पूर्वसांसद बालकृष्ण ढुङगेललाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ ।

 

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज (मंगलवार) बिज्ञप्ती जारी गरी सरकारले ढुंगेललाई फक्राउ गरेर अनैतिक कार्य गरेको भन्दै बिनाशर्त रिहा गर्न र मुद्दा खारेज गर्न सरकारलाई चेतावनी दिनुभएको छ । जनयुद्धको योजनाकारलाई सत्ता भोगविलासमा सहभागी गराएर ढुंगेललाई जेल हाल्नु प्रतिक्रान्तिकारी लाद्ने काम राज्य संचालक दलालहरुले गरेको महासचिव विप्लवले बताउनुभएको छ ।

 

बिज्ञप्तिमा भनिएको छ, ‘क्रान्तिका क्रममा भएका घटनालाई आन्दोलनबाट अलग गर्ने र आन्दोलनका बिषयलाई ब्यत्तिबिशेषको अपराध बनाएर वस्तुतः क्रान्तिकारी आन्दोलनलाई नै बद्नाम र कमजोर बनाउने कार्य दलाल संसदवादीहरुको षड्यन्त्रपूर्ण र प्रतिक्रान्तिकारी कार्य हो ।

 

जनयुद्धका योजनाकारलाई सरकारमा सहभागी गराएर मोजमस्तीमा साझेदारी गर्ने अनि कार्यकर्तालाई कथित दोषी बनाएर जेल कोच्ने कार्य अराजनीतिक, अनैतिक, घृणास्पद छ’ विज्ञप्तिमा भनिएको छ ।

 

‘हाम्रो पार्टीले सरकारको यस्तो अनैतिक कार्यलाई सदैव प्रतिवाद गर्दै आइरहेको छ । तसर्थ, बालकृष्ण ढुंगेलको गिरफ्तारीको घोर भत्र्सना गर्दै उहाँलाई बिनासर्त मुक्त गर्न र मुद्दा खारेज गर्न चेतावनी दिन्छ । यदि यो आग्रहलाई बेवास्ता गरिन्छ र प्रतिक्रान्तिकारी दमन जारी राखिन्छ भने राज्य र यसका संचालक सबैखाले दलालहरुले पनि चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिन चाहन्छौं’ महासचिव विप्लवले विज्ञप्तिमा भन्नुभएको छ ।