जी–७ शिखर सम्मेलनमा ट्रम्पले पुटिनलाई गुहारे

 

प्रकाशित मिति : २०७५ जेष्ठ २६

काठमाडौं, जेठ २६ । क्यानडाको क्युवेकमा जारी जी–७ शिखर सम्मेलनमा आफ्ना सबै साझेदारहरु आफू विरुद्धमा ओहिरिएसँगै एक्लिन पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पले रसियालाई जी–७ मा राख्न हारगुहार गरेका छन् । आफ्ना व्यापार साझेदारहरुसित एक रत्ति पनि सल्लाह नै नलिइकन अमेरिकामा आयात गरिने स्टिल तथा आल्मुनियममा ट्रम्पद्वारा चर्को र एकलौटी व्यापार कर लगाइने घोषणा गरेपछि ट्रम्प आफ्ना व्याापार साझेदारहरुको आलोचनाको तारो बन्दै आएका छन् ।

ट्रम्प सुरुमा स्टिल र आल्मुनियममा चर्को व्यापार कर घोषणा गरेर छिमेकी देशहरु क्यानडा तथा मेक्सिकोसँग विवादमा तानिएका थिए । विवादको आगो फैलँदै गएपछि ट्रम्प क्रमशः जी–७ का सबै साझेदारहरुको आलोचनाका शिकार हुन पुगेका छन् । जी–७ को शिखर सम्मेलनमा उपस्थित सबै साझेदारहरुले ट्रम्पद्वारा व्यापार युद्ध छेडिएको आरोप लगाएपछि उनले जी–७ मा रसियालाई राख्नुपर्ने कुरा जोडदार रुपमा राखेका थिए ।

रसियाका शक्तिशाली सरकार प्रमुख तथा योजनाकार भ्लादिमिर पुटिनप्रति ट्रम्पको यो आशक्तिपूर्ण भनाइ आएपछि कुनै पनि मानेमा अब ट्रम्पलाई व्यापार साझेदारहरुको सहयोग नमिल्ने र उनका विरुद्ध व्यापार युद्ध गरिने आक्रोशपूर्ण अभिव्यक्तिहरु शिखर सम्मेलनमा उपस्थित उनका साझेदारहरु सबैले दिए ।

बाहिर देख्दा अमेरिकाको रसियाप्रति निकै शत्रुतापूर्ण रबैया देखिए पनि भित्रभित्रै ट्रम्प प्रशासन रसियाको पहलमा भएको आफ्नो चुनावी जीतलाई लिएर पुटिनप्रति निकै नतमस्तक भएको देखिएको व्यापार विश्लेषकहरुले बताएका छन् ।