जनपक्षीय पत्रकारिता गर्दा देश र जनताको हितमा हुनुपर्छ :महाेन वैध (किरण )

 

प्रकाशित मिति : २०७५ असार ११

काठमाडौं, असार ११ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नेपालमा र विश्वमा पनि व्यवसायिक पत्रकारिताको चर्को कुरा गर्नेहरुले नै मिसन पत्रकारिता गर्ने गरेको बताएका छन् । काठमाडौंको घट्टेकुलोस्थित कृष्णसेन ‘इच्छुक’ साँस्कृतिक प्रतिष्ठानको हलमा वर्गदृष्टि साप्ताहिक प्रकाशनको १०० अङ्क पुगेको अवसरमा वर्गदृष्टि मिडिया प्रा.लि.ले सोमवार आयोजना गरेको समीक्षात्मक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव किरणले यस्तो बताएका हुन् ।

 

बिग मिडिया भनेका आआफ्ना मिसन बोकेका मिडिया साम्राज्यवाद हुन्, यिनका विरुद्ध लड्नु पर्छ भन्दै महासचिव किरणले वर्तमान प्रतिकूल परिस्थितिले सिर्जना गरेका दक्षिणपन्थी हावाहुरीका विरुद्ध जनपक्षीय मिडियाले एउटा ठूलै लडाइँ लड्नुपर्ने कुरामा जोड दिएका छन् । जनपक्षीय पत्रकारिता भनेको आफैमा मिसन हुने भएकाले यो सिधा र सबैले बुझ्ने खालको हुने बताउँदै महासचिव किरणले जनपक्षीय पत्रकारिता गर्दा देश र जनताका इच्छा, आकाङ्क्षा र आम मनोविज्ञानलाई ध्यान दिनुपर्ने कुरामा जोड दिए । उनले भने, “पत्रकारितामा पत्रकारको विशिष्टता, लेखकको विशिष्टता र सापेक्षतामा विकास भएको विज्ञान तथा प्रविधिको विशिष्टताहरुको सुन्दर मेल हुनु पर्छ ।” 

 

“माक्र्सवादमा ‘रेड एण्ड एक्सपर्ट’ को कुरा गरिन्छ । यहाँ ‘रेड’ भनेको विचारका आलोकमा देश र जनताका इच्छा तथा चाहना बमोजिम विषयवस्तुको पहिचान र छनौट गर्न सक्नु हो।त्यसै गरी ‘एक्सपर्ट’ भनेको विचार र पार्टीको आवश्यताअनुसार त्यही रेडको परफर्मेन्स हो ।” महासचिव किरणले भने, “पत्रिका आफैमा एउटा विचारक, संगठक, प्रचारक र आन्दोलनकर्ता पनि हो । जनपक्षीय पत्रकारिता साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र संशोधनवादका विरुद्ध गरिने भएकाले यो मिसन पत्रकारिता हो ।”

 

अन्तक्र्रिया कार्यक्रममा लेखक, पाठक, समीक्षक तथा व्यवस्थापन जस्ता विविध पक्षसँग जोडिएका सहभागीहरुले वर्गदृष्टि साप्ताहिकका विभिन्न स्तम्भ, समाचार, लेख, साहित्य, व्यानर तथा फिचर समाचार तथा अन्तरवार्ता आदिको रखाइ र प्रस्तुतिका साथै शुद्धाशुद्धीका बारेमा आआफ्ना धारणाहरु राखेका थिए । साथै, वर्गदृष्टि साप्ताहिक तथा मूलबाटो डटकमले दिन सक्नुपर्ने गुणात्मकता र स्तरीयताका बारेमा पनि महत्वपूर्ण सुझावहरु दिएका थिए ।

 

वर्गदृष्टि मिडिया प्रा.लि.का अध्यक्ष रामसिंह श्रीसको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रमको सञ्चालन वर्गदृष्टि साप्ताहिकका सम्पादक इन्द्र राउतले गरेका थिए भने स्वागत प्रधानसम्पादक कुमार शाहले गरेका थिए ।