अागामी साउनको तेस्रो सातदेखि राष्ट्रिय परिचयपत्र वितरण गरिने

काठमाडौं, असार १६ । सरकारले आगामी साउनको तेस्रो सातादेखि राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ। स्थापनाको आठ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेको हो।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिलिपकुमार चापागाईंले साउन तेस्रो सतादेखि परिचयपत्र वितरण गरिने जानकारी दिए। उनका अनुसार परिचयपत्र वितरणका लागि सिंहदरबार र पाँचथरमा असार ५ देखि विवरण संकलन भइरहेको छ।

सिंहदरबारस्थित सबै मन्त्रालय र निकायहरुमा वितरण संकलनको ढाँचा पठाइसकिएको तथा विवरण आउने क्रम जारी छ। पहिलो चरणअन्तर्गत परिचयपत्र विवरण सुभारम्भ सिंहदरबारबाट गरिनेछ। राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र २०६७असार १६ गते छुट्टै निकायको रुपमा स्थापना भएको थियो।