भारतसंग समान सार्वभौमसत्ता र साझा स्वार्थका आधारमा आपसी सम्बन्ध अघि बढ्छ अध्यक्ष प्रचण्ड

 

काठमाडौँ साउन १५।नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीको सहयोग बिना समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको “नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका लागि प्रबुद्ध वर्गको भूमिका” विषयक सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन ।

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपाल र भारतबीचको सहकार्यको प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको खुलासा समेत गरे ।

 

उनले नेपालको स्थिरता, शान्ति र समृिद्ध भारतको पनि स्वार्थको विषय भएको भन्दै छिमेकीको सहयोग बिना नेपालको समृद्धि हासिल गर्न नसक्ने भएकाले दिगो विकास लक्ष्यको परिधिमा रहेर साझा गन्तव्य पहिल्याउन आवश्यक भएकोमा जोड दिए ।

 

समान सार्वभौमसत्ता र साझा स्वार्थका आधारमा आपसी सम्बन्ध नयाँ उचाइमा बढाउनुपर्ने प्रचण्डको भनाई थियो । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणले विश्वासको आधार तयार भएको भन्दै आगामी दिनमा दुई देशको सम्बन्ध गाढा बनाउनुपर्नेमा  जोड दिए ।

 

उनले त्यसका लागी आफूहरुले प्रयत्न गरिरहेको समेत बताए । उनले भारतसँगको समझदारीअनुसार रेल र जलमार्ग हुँदै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न आवश्यक रहेको बताए । प्रचण्डले नेपालको गरिबीको अवस्था लामो समयसम्म नरहने दाबी गरे ।प्रचण्डले आपसी सम्बन्ध खुल्ला र साझा स्वार्थका लागि अघि बढाउनुपर्नेमा जोड दिए।