इन्काउन्टर गरेको घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरूले स्पष्ट छानबिनको माग

   

काठमाडौँ, साउन २४ । गृहमन्त्री रामबहादुर थापाले निसान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी ‘इन्काउन्टर’मा मारिएको घटनाको सरकारले छानबिन गर्ने बताएका छन्। प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले इन्काउन्टरबारे सरकारले छानबिन गर्ने बताउका हुन्।

 

बालक अपहरणपछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई डेराबाट नियन्त्रणमा लिएर प्रहरीले भक्तपुरको पाईलटबाबा आश्रम नजिकको जंगलमा लगेर इन्काउन्टर गरेको घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरूले स्पष्ट छानबिनको माग गरेपछि गृहमन्त्रीले त्यसमा सरकारको प्रतिवद्धता रहेको जनाएका हुन्।

 

उनले त्यसबारे सोधपुछ गर्नका लागि नेपाल प्रहरीका महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरेका थिए। प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउन्टरको नाममा उनीहरूको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचना भइरहेको छ।

 

समिति सदस्य देवेन्द्र कँडेलले प्रहरीले भनेको इन्काउन्टर शंकास्पद भएको र त्यस्तो अवस्था कसरी आयो भन्नेबारे छानबिन हुनुपर्ने धारणा राखेका थिए।