प्रहरीको गोली लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

 

कञ्चनपुर, भदौ ८ । निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमा शुक्रवार प्रहरीको गोली प्रहारबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीय किशोर चेतन भट्ट रहेका छन् ।  प्रहरीको गोली प्रहारबाट ३ जना गम्भीर घाइते भएका छन् ।

 

दिउँसो ३ बजेतिरबाट प्रदर्शनकारीले आन्दोलन शुरू गरेका र अहिले भीड बढ्दै गइरहेको छ । सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो ।

 

आन्दोलन शुक्रवार साँझबाट फेरि शुरू भएर तनाव सिर्जना भएको छ । प्रदर्शनकारी आक्रोशित भएका छन् । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले बल प्रयोग गर्दा फेरि झडप शुरू भएको हो ।