उर्जामन्त्री पुन विद्युतीय गाडीको प्रयोग गर्दै करोडौंको गाडी छोडेर
काठमाडौं भदाै १०। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आज (आइतबार) बाट विद्युत सवारी प्रयोग गरेका छन् ।प्राधिकरणले करिब ५६ लाख रुपैयाँमा किनेर उपलब्ध गराएको बा२झ ८९०३ नम्बरको गाडी मन्त्री पुनले उपयोग गर्नेछन् । मन्त्रालयले थप ३ वटा नयाँ विद्युत सवारी खरिद प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले अहिलेसम्म विद्युतीय सवारी प्रयोग गरेको छैन । तर, प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले ४ वटा विद्युतीय सवारी प्रयोग गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष चढ्न विद्युतीय सवारी प्रयोगमा ल्याइएको छ ।
नेपाल विद्युत प्राधिकरणले खरिद गरेर मन्त्रालयलाई उपलब्ध गराएको हो । ऊर्जा दक्षता अभियान विस्तार गर्दै वातावरण र सहरी सभ्यता जोगाउन विद्युतीय सवारी प्रयोगमा जोड दिइएको छ । मन्त्री पुनले गत बैशाख २५ गते गरेको ऊर्जा तथा जलस्रोत क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रमा पनि विद्युत खपत बढाउन विद्युतीय सवारी प्रयोगमा जोड दिइने उल्लेख छ ।
स्वेतपत्रको ७२ नम्बर बुँदामा उल्लेख छ– विद्युतीय सवारी प्रयोग बढाउन आगामी पाँच वर्षभित्र आयातको ५० प्रतिशत पुर्याइने लक्ष्यलाई आधार मानी निजी तथा सार्वजनिक विद्युतीय सवारी साधनहरुको उपयोग वृद्धि र सो को उपयोगलाई प्रोत्साहन गर्ने सम्बन्धमा नीतिगत व्यवस्था तथा चार्जिङ स्टेशन लगायतका पूर्वाधार निर्माणको कार्ययोजना तयार गरी क्रमशः लागू गरिनेछ । यस कार्यमा निजी क्षेत्रलाई समेत सहभागी गराइनेछ ।
अहिले उपत्यका तथा उपत्यका बाहिर यस्ता सवारीको प्रयोग बढिरहेको छ । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने र १० हजार मेगावाट स्वदेशमै खपत गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ । विद्युत खपत बढाउन पनि विद्युतीय सवारी प्रयोगलाई जोड दिने सरकारको मन्त्री पुनको रणनीति छ ।